जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार ०९:२८

काठमाडौंको माकालबारीमा मध्यराती युवतीको आत्मदाह प्रयास


काठमाडौं, साउन ५। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले गएराति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमानले फेला पारेका थिए ।

घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले तत्कालै शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर गरी उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिनुभयो ।

गुरुङको शरीरको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ । उहाँ हल्का बोल्न सक्ने अवस्थामा रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलवारको घटनासहत दुई साताभित्र काठमाडौंमा भएको यो तेस्रो आत्मदाहको घटना हो भने देशभर पाँचौं घटना हो ।

मुगुका गणेश नेपालीले त्रिपुरेश्वरमा सरकारको ज्याद्धतीबिरुद्ध आफैलाई आगो लगाएपछि काठमाडौंमा तीन, सर्लाही र रौतहटमा एकएक जना गरी पाँच जनाले आत्मदाह प्रयाश गरेका छन । जसमध्ये तीन जनाको ज्यान गइसकेको छ ।