जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १०:१९

देशभर मनसुन सक्रिय, आज पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी


काठमाडौं, साउन ४ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि सक्रिय रहने जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान, कर्णालीका पहाडी भू–भाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।