काठमाडौं, साउन ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दुईदिने राजनीतिक कार्यक्रमका लागि जनकपुरधाम जानुहुने भएको छ। उहाँ दिउँसो ४ बजे हवाईमार्गबाट जनकपुर पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
जनकपुर पुगेपछि अध्यक्ष दाहाल महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथि कार्यक्रममा सहभागी हुनुहुनेछ। उक्त कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरेपछि उहाँ पुनः जनकपुरधाम फर्केर मधेश प्रदेशका पार्टी नेताहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ।
छलफलका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्ने तयारीमा रहेको नयाँ सत्ता समीकरण तथा त्यसले मधेश प्रदेशको राजनीतिमा पार्न सक्ने प्रभावबारे प्रदेश नेतृत्वसँग विचार–विमर्श हुने बताइएको छ। साथै बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको रणनीति, संगठन सुदृढीकरण र आगामी भूमिकाका विषयमा पनि विस्तृत छलफल गरिने जनाइएको छ।
प्रचण्डनिकट स्रोतका अनुसार केन्द्रको राजनीतिक समीकरण परिवर्तनसँगै पार्टी संगठनलाई थप एकीकृत, सुदृढ र सक्रिय बनाउने विषयलाई पनि छलफलको मुख्य एजेन्डाका रूपमा राखिएको छ।
यसैबीच, अध्यक्ष दाहालले बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा आयोजना हुने मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकता समायोजन तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ।
उक्त कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधिहरूको अनिवार्य उपस्थितिका लागि पार्टीले निर्देशन दिएको जनाएको छ। दुईदिने जनकपुर भ्रमणलाई मधेश प्रदेशमा पार्टी संगठन सुदृढीकरण र बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिबारे नेतृत्वसँग समन्वय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्