जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार २१:४१

प्रतिशोध होइन, सहकार्य आवश्यक : लोकतन्त्रको रक्षाका लागि एकजुट हुन देउवाको आह्वान


काठमाडौं, साउन ५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपालीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

जेनजी आन्दाेलतकाे क्रममा कुटपीटबाट घाइते भए पछि उपचारकाे क्रममा विदेश रहनु भएका देउवाले जननायक बिपी कोइरालाको स्मृति दिवसको अवसरमा जारी गर्नुभएको सन्देशमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहकार्यको बाटो अपनाउन आग्रह गर्नुभएको हो। सन्देशको सुरुवातमा देउवाले जननायक बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै “राष्ट्रियता, प्रजातन्त्र र समाजवादसहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ,” भन्नुभएको छ।

उहाँले बिपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा ठूलो सौभाग्य भएको उल्लेख गर्दै “उहाँले ममाथि गर्नुभएको विश्वास, दिनुभएको जिम्मेवारी र सिकाउनुभएको लोकतान्त्रिक संस्कारले मेरो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गनिर्देशन गरेको छ,” भन्नुभएको छ।

देउवाले ६ दशकभन्दा लामो राजनीतिक यात्रामा निरंकुशता र अधिनायकवादविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गर्दै “जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौँ कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैं एउटै रह्यो– प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन,” भन्ने धारणा व्यक्त गर्नुभएको छ।

पछिल्ला राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै उहाँले देशमा फरक विचारप्रति असहिष्णुता बढ्दै गएको आरोप लगाउनुभएको छ। “राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन, साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।

सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै देउवाले “सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू तथा लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन्,” भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले “न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ,” भन्ने आरोपसमेत लगाउनुभएको छ।

नेपाली कांग्रेसको जिम्मेवारीबारे उल्लेख गर्दै उहाँले “नेपाली कांग्रेसमाथि केवल प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र होइन, लोकतन्त्र, संविधान, राष्ट्रियता र आम जनतामा सुरक्षाको अनुभूतिसँगै मुलुकको भविष्य रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी पनि थपिएको छ,” भन्नुभएको छ।

राष्ट्रिय मेलमिलापको आवश्यकता औँल्याउँदै देउवाले जननायक बिपी कोइरालाको २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्नुभएको छ। “त्यो इतिहास केवल सम्झनाका लागि होइन, वर्तमान चुनौतीको सामना गर्न मार्गदर्शन गर्ने जीवित आदर्श पनि हो,” उहाँले उल्लेख गर्नुभएको छ।

देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै उहाँले “आज देशलाई विभाजन होइन, एकता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ, प्रतिशोध होइन, सहकार्य चाहिएको छ,” भन्दै सबै पक्षलाई राष्ट्रिय संवाद र सहकार्यमा जोडिन आग्रह गर्नुभएको छ।

विदेशमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किने क्रममा जारी गरिएको सन्देशको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतनामाथि आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्नुभएको छ। “सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु,” उहाँले भन्नुभएको छ।

उहाँले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतालाई हार्दिक आह्वान गर्दै आफ्नो लोकतान्त्रिक प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ।