दोलखा, साउन ६ । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति पुर्याएको छ। बाढीका कारण एक स्थानीय वृद्ध बेपत्ता भएका छन् भने आयोजनामा कार्यरत चार जना कर्मचारी दुई खोलाको बीचमा फसेर उद्धारको प्रतीक्षामा रहेका छन्।
गएराति करिब ११ बजेदेखि आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको हो। उहाँको खोजीका लागि स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित निकायले समन्वय गरिरहेका छन्।
गौरीशंकर गाउँपालिका–९ का वडा अध्यक्ष निमगेली शेर्पाका अनुसार बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रमा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र बिनोद श्रेष्ठ दुई खोलाको बीचमा फसेका छन्। ड्याम साइड क्षेत्रमा बाढीले व्यापक कटान गरेपछि उनीहरू सुरक्षित स्थानमा निस्कन नसकेको र तत्काल उद्धार आवश्यक रहेको उहाँले जानकारी दिनुभयो।
बाढीले जलविद्युत् आयोजनाको ड्याम साइडमा क्षति पुर्याउनुका साथै खोलाको दुवैतर्फको जमिन कटान गरेपछि आयोजनास्थल थप जोखिममा परेको छ। यही कारण कर्मचारीहरू उद्धारको प्रतीक्षामा जोखिमपूर्ण अवस्थामै बस्न बाध्य भएका छन्।
वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि निरन्तर बाढी आइरहेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भइरहेको छ। मौसममा सुधार नआएसम्म उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न चुनौती रहेको उहाँले बताउनुभयो।
स्थानीय प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायले बेपत्ता भएका तामाङको खोजी र फसेका चार जना कर्मचारीको सुरक्षित उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको छ। निरन्तर वर्षाका कारण दोलखाका नदी तथा खोलामा जलस्तर बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्