जनता टाइम्स

६ श्रावण २०८३, बुधबार ०९:१९

दाेलखाकाे सिप्रिङ खोलाकाे बाढीमा फसेका चार कर्मचारीको सकुशल उद्धार, एक वृद्ध अझै बेपत्ता


दोलखा, साउन ६ । दोलखाको गौरीशंकर गाउँपालिका–९ मुलखर्कस्थित सिप्रिङ खोलामा गएराति आएको भीषण बाढीका कारण  फसेका सिप्रिङ खोला जलविद्युत आयोजनाका चार जना कर्मचारीलाई स्थानीयवासीले सकुशल उद्धार गरेका छन्।

उद्धार गरिएका कर्मचारीहरूमा सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ रहेका छन्। बाढीले आयोजनाको ड्याम क्षेत्र पुरिनुका साथै खोलाले तीव्र कटान गरेपछि उनीहरू भीरमा अड्किएका थिए। स्थानीयवासीको सक्रियतामा बुधबार बिहान उनीहरूको सुरक्षित उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयाे।

उहाँका अनुसार मंगलबार राति करिब ११ बजेदेखि सिप्रिङ खोलामा आएको आकस्मिक बाढीपछि कर्मचारीहरूले भीरमा चढेर ज्यान जोगाएका थिए। रातभर जोखिमपूर्ण अवस्थामा बसेका उनीहरूलाई बिहान स्थानीयले उद्धार गरेका हुन्।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जोखिममा रहेका व्यक्तिहरू सुरक्षित स्थानतर्फ ल्याउने कार्य भइरहेको र थप उद्धार तथा अवस्थाको अनुगमनका लागि प्रहरी परिचालन गरिएको बताउनुभयाे।

प्रहरीका अनुसार सिंगटी र गोंगरबाट खटिएका टोलीलाई बाढी प्रभावित क्षेत्रमा पुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।

यसैबीच, बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई बगाएपछि  बेपत्ता हुनुभएकाे छ। गोठ लिएर मुलखर्क पुग्नु भएका तामाङ एक्लै बास बसेका बेला बाढीले बगाएको बताइएको छ। उहाँको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।

बाढीका कारण सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम क्षेत्र पुरिएको छ भने कटानले आयोजनामा क्षति पुगेको छ। १० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत उत्पादन हाल पूर्ण रूपमा बन्द भएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।