जनता टाइम्स

६ श्रावण २०८३, बुधबार १३:४०

कीर्तिपुरमा कारमा आगो लगाएर सुरेशले आत्मदाह गरेको प्रहरी निष्कर्ष


काठमाडौं, साउन ६ । मंगलबार कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह नै गरेको तथ्य खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कारभित्रै आगो लगाएर आत्मदाह गरेको तथ्य भेटिएको हो । सोही आधारमा प्रहरी आत्मदाहको निष्कर्षमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले घटनास्थलको सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणहरूको विश्लेषणपछि श्रेष्ठले आफैंले कारभित्र आगो लगाएर आत्मदाह गरेको निष्कर्षमा पुगेको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान ११ बजेर २० मिनेटतिर श्रेष्ठले बा ५ च ३०३८ नम्बरको कार आफैं चलाएर कीर्तिपुरको ट्याङ्गलाफाँटस्थित चाँदनी चोक नजिक पुग्नुभएको थियो । श्रेष्ठले सडकबाट केही पर रहेको खाली जग्गामा कार पार्किङ गरेपछि केही बेरमै कारभित्रबाट आगो सल्किएको थियो ।

प्रत्यक्षदर्शीहरूले कार पार्किङ भएलगत्तै केही बेरमा आगो सल्किएको थिया । प्रहरी अनुसन्धाले देखाएअनुसार घटनास्थल नजिक रहेका एक युवकले कारमा आगो लागेको देखेपछि तत्काल उद्धारको प्रयास गरेका थिए । सिसिटिभी फुटेजमा ती युवक कारतर्फ दौडिँदै गएर अगाडिको ढोका खोल्ने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ । चालक सिटतर्फको ढोका खोल्ने क्रममा उनको हातसमेत पोलेपछि पछि हट्न बाध्य भएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार घटनास्थलमा भेटिएका प्रमाण, सिसिटिभी दृश्य र अन्य प्राविधिक अनुसन्धानले बाह्य व्यक्तिको संलग्नताको संकेत नदेखिएको तथा श्रेष्ठ आफैंले सिट बेल्ट बाँधेर आफूतर्फको ढोका लक गरी आत्मदाह गरेको देखिएको हो ।

घटनास्थलको अनुगमनपछि जनताटाइम्स डटकमको टोलीले आत्मदाहतर्फ संकेत गरेको थियो । कार पार्किङलगत्तै आगजनी हुनु, सिट बेल्ट बाँधिएकै अवस्थामा मृत ब्यक्ति भेटिएको घटनाले अचानक आगजनी नभएर आत्मदाह हुनसक्ने भन्दै समाचार प्रकाशन गरिएको थियो ।