काठमाडौं, साउन ६ । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उपसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विस्तृत छलफल गरेको छ।

बैठकमा संयोजक खरेलसहित सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापाको उपस्थिति रहेको थियो। पूर्व कानुनमन्त्री माधवप्रसाद पौडेलले संविधानविद् तथा विज्ञका रूपमा विशेष सहभागिता जनाउनुभएको थियो।
बैठकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउने विषयमा विभिन्न पक्षबाट छलफल गरिएको जनाइएको छ।
छलफलका क्रममा नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, प्राप्त उपलब्धि तथा व्यवहारमा देखिएका चुनौतीहरूको समग्र समीक्षा गर्ने विषयमा विचार–विमर्श भएको थियो। त्यस्तै, संशोधन आवश्यक देखिएका संवैधानिक, राजनीतिक, प्रशासनिक तथा कानुनी विषयहरूको पहिचान गरी तिनको अध्ययन गर्ने प्रक्रियाबारे पनि छलफल गरिएको छ।
उपसमितिले राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियालाई समेत व्यवस्थित बनाउने विषयमा सहमति जनाएको छ।
यसैगरी, प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गर्दै तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्