जनता टाइम्स

६ श्रावण २०८३, बुधबार १८:४८

गगन थापाबिरुद्ध आगो ओकल्दै कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला


काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गर्नुभएको हो । सिंहका अनुसार साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला तय गरिएको छ ।

सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए पनि सभापति गगन थापाबिरुद्ध आगो ओकले । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले त संस्कारहीन, अमानवीयदेखि कप्टी भनेर सार्वजनिक घोषणा गर्नुभएको छ ।

सिटौलाले भन्नुभयो, ‘गगन थापाजी, तपाई शाहसी बन्नोस, मानवीय बन्नोस, अकप्टी बन्नोस । उमेरले हामीभन्दा आधार उमेरभन्दा पनि सानो हुनुहुन्छ । एक्लै हिडने दम्भ नगर्नाेस ।’

कांग्रेस नेता प्रकाशमान सिंहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न भइसकेकाले अब राष्ट्रिय स्तरमा कार्यकर्ता र नेताहरूको सहभागितामा भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय भेला काठमाडौंमा हुनेछ।

नेता सिंहले पार्टीको १५औँ महाधिवेशनलाई एकतामूलक बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै विशेष र नियमित महाधिवेशनको बहसका कारण पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी साझा सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले विशेष महाधिवेशनको नाममा पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले सबै पक्षलाई समेटेर सहमतिको वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो। संस्थापन इतर समूहका नेताहरूले साउन महिनाभित्र पार्टी नेतृत्वले सहमतिका लागि ठोस पहल नगरे वैकल्पिक राजनीतिक कदम चाल्ने तयारी रहेको संकेत दिएका छन्। उनीहरूले पार्टी नेतृत्वले आन्तरिक एकता कायम गर्न आवश्यक पहल नगरेको आरोप समेत लगाएका छन्।

राष्ट्रिय भेलामार्फत आगामी राजनीतिक रणनीति, पार्टीभित्रको शक्ति सन्तुलन तथा महाधिवेशनसँग सम्बन्धित विषयमा साझा धारणा तय गर्ने संस्थापन इतर समूहको तयारी रहेको बताइएको छ।