रामेछाप, साउन ७। नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुंगेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ अत्यन्त दूरदर्शी, राष्ट्रवादी र युगद्रष्टा नेता भएको बताउनुभएको छ।
पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार उहाँको जन्मथलो रामेछापको भङ्गेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता ढुंगेलले पुष्पलाल श्रेष्ठले नेपालको राजनीतिक भविष्य धेरै पहिले नै देख्नुभएको उल्लेख गर्नुभयो। उहाँले पुष्पलाल श्रेष्ठले निरन्तर रूपमा नेपालमा लोकतन्त्र र राष्ट्रिय हितको रक्षा गर्न कम्युनिष्ट शक्ति र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको स्मरण गराउँदै तत्कालीन समयमा त्यस विचारका कारण उहाँले आलोचना र “गद्दार”को आरोपसमेत खेप्नुपरेको बताउनुभयो। तर, पछि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनमार्फत भएको राजनीतिक परिवर्तनले पुष्पलालका विचारको औचित्य पुष्टि गरेको उहाँको भनाइ थियो।
“त्यतिबेला पुष्पलाललाई नेपालले चिन्न सकेन, वाम आन्दोलनले पनि उहाँको दूरदर्शी सोचलाई बुझ्न सकेन कालान्तरमा उहाँका विचार प्रमाणित भए,” नेता ढुंगेलले भन्नुभयो।
उहाँले नेपालमाथि बढ्दो बाह्य हस्तक्षेप र राष्ट्रिय स्वाधीनतामाथिको चुनौतीलाई महसुस गरेर पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको दाबी गर्नुभयो। देशलाई अर्धसामन्ती संरचना र अर्धऔपनिवेशिक प्रभावबाट मुक्त गराई स्वतन्त्र, स्वाभिमानी र समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यका साथ उहाँले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नुभएको नेता ढुंगेलको भनाइ थियो।
उहाँले नेपालको सार्वभौमसत्ताको रक्षा अहिले पनि प्रमुख राष्ट्रिय चुनौतीका रूपमा रहेको उल्लेख गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नयाँ नक्सा सार्वजनिक गर्दा नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न कोणबाट आक्रमण भएको टिप्पणी गर्नुभयो।

नेता ढुंगेलले वर्तमान राजनीतिक परिस्थितिमा फेरि पनि वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक शक्तिहरू राष्ट्रिय हितका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
सामाजिक सञ्जालमार्फत वामपन्थी आन्दोलनमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै उहाँले वामपन्थी शक्तिको लोकप्रियताकै कारण विभिन्न माध्यमबाट भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो। “नेकपा (एमाले) सबै राजनीतिक शक्तिलाई साथ लिएर राष्ट्रिय एकता, लोकतन्त्र, संविधानको रक्षा तथा देशको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन प्रतिबद्ध छ,” उहाँले भन्नुभयो। आवश्यक परे पार्टी समयानुकूल रूपान्तरण हुन तयार रहेको उल्लेख गर्दै देशको रक्षा, विकास र समृद्धिका लागि नेकपा (एमाले) जुनसुकै त्याग गर्न पनि तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
स्मृति दिवसका अवसरमा भङ्गेरीस्थित अमर शहीद गङ्गालाल श्रेष्ठ तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिकामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
नेकपा (एमाले) रामेछापका सचिव प्रकाशकुमार कार्कीका अनुसार कार्यक्रम पार्टीका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षतामा तथा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा एमालेका प्रदेश कमिटीका पदाधिकारी, जनप्रतिनिधि, जिल्ला कमिटीका नेता, जनसंगठनका प्रतिनिधि, पालिका तथा वडा कमिटीका पदाधिकारीसहित स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।














प्रतिक्रिया दिनुहोस्