जनता टाइम्स

७ श्रावण २०८३, बिहीबार १५:४२

पुष्पलालको जन्मथलो भँगेरीमा ४८औँ स्मृति दिवस, वाम एकतामा जोड


रामेछाप,  साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस उहाँको जन्मथलो रामेछापको भँगेरीमा श्रद्धाञ्जली अर्पण गर्दै मनाइएको छ।

नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा शहीद गंगालाल र पुष्पलाल श्रेष्ठको सालिकामा पुष्पगुच्छा अर्पण गरी उहाँको योगदानको स्मरण गरिएको थियो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पुष्पलाललाई दूरदर्शी नेता भएको उल्लेख गर्दै कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच सहकार्यको उहाँको विचारकै जगमा नेपालमा बहुदलीय व्यवस्था र गणतन्त्र स्थापित भएको बताउनुभयो।

उहाँले वर्तमान राजनीतिक परिस्थितिमा पुनः वाम शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

ढुङ्गेलले नेकपा एमाले देशको रक्षा, विकास र समृद्धिका लागि आवश्यक परे रूपान्तरण हुन र सबै पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो।

कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला तहका नेता, जनप्रतिनिधि, जनसंगठनका पदाधिकारी तथा स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो।