जनता टाइम्स

७ श्रावण २०८३, बिहीबार १७:४१

एमाले एकताबद्ध छ-रहिरहन्छ, देश र जनताको हितका लागि वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिऔँ : केपी ओली


काठमाडौं, साउन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले एकताबद्ध रहेको र आगामी दिनमा पनि एकताबद्ध रूपमा अघि बढ्ने स्पष्ट पार्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सबै प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त सक्तीहरूबिच सहकार्य र एकताको पक्षमा रहेको बताउनुभयो।

उहाँले देशको लोकतन्त्र, संविधान, सुशासन र कानुनी शासनको संरक्षणका लागि समान सोच भएका राजनीतिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ। हामी सबै प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू देश र जनताको हितका लागि, लोकतन्त्रको रक्षा गर्न, संविधानको संरक्षण गर्न, सुशासन र कानुनी शासनलाई सुदृढ बनाउन दृढतापूर्वक अघि बढ्नुपर्छ,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले केही प्रदेश सरकारमा देखिएको अन्योल चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै प्रदेश तथा स्थानीय सरकारहरू स्पष्ट कार्यदिशासहित प्रभावकारी रूपमा सञ्चालन हुने बताउनुभयो।

अध्यक्ष ओलीले मुलुक गम्भीर चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै सबै राजनीतिक दलले राष्ट्रिय हितका साझा मुद्दामा सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सबै दल एउटै पार्टी बन्नुपर्ने नभई आ–आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै साझा उद्देश्यका लागि मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “सबै पार्टी एउटै पार्टी बनाऔँ भनेको होइन, आ–आफ्नो पार्टी आफ्नै ठाउँमा रहोस्, तर राष्ट्रिय हित, लोकतन्त्र र जनताको पक्षमा समान उद्देश्यका लागि सहकार्य गरौँ,” उहाँले भन्नुभयो।

यसै क्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने सुझाव पनि दिनुभयो। अहिले विवादभन्दा पनि राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै उहाँले “कांग्रेसले काङ्ग्रेसकै रूपमा आफ्नो अस्तित्व सुदृढ बनाउँदै अघि बढोस्,” भन्ने धारणा व्यक्त गर्नुभयो।