जनता टाइम्स

७ श्रावण २०८३, बिहीबार १८:१६

गगनलाई पार्टी सभापति र प्रधानमन्त्री बनाएर देश परिवर्तन गर्ने संकल्पका साथ अघि बढेका छाैँ : विश्वप्रकाश शर्मा


काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले २१औँ शताब्दीका युवाको आकांक्षा र बिपी कोइरालाको विचारलाई समन्वय गर्दै समुन्नत नेपालको मार्ग तय गर्नुपर्ने बताउनुभएको छ।

४४औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले कसैको आलोचना वा विरोध गरेर मात्र गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै स्पष्ट विचार, दृष्टिकोण र सकारात्मक कार्यदिशासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले बिपी कोइरालाको “क्रान्तिलाई प्राणको आहुति चाहिन्छ, तर त्योभन्दा बढी क्रान्तिलाई शिक्षक चाहिन्छ” भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। समाज रूपान्तरणका लागि विचार, शिक्षा र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा थियो।

उपसभापति शर्माले नेपाली कांग्रेसले भावी नेतृत्व निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पार्टीले विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टी सभापति तथा मुलुकको नेतृत्वमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको दाबी गर्नुभयो। “नेपाली कांग्रेस विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टीको सभापति र देशको नेतृत्व गर्ने व्यक्तिका रूपमा स्थापित गर्दै प्रधानमन्त्री बनाएर देश परिवर्तन गर्ने संकल्पका साथ अघि बढिरहेको छ,” उहाँले भन्नुभयो।

शर्माले कांग्रेसले बिपीको लोकतान्त्रिक समाजवादको मार्गलाई वर्तमान पुस्ताको सोच र आवश्यकतासँग जोडेर देशको समृद्धि र रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिनुभयो।