काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस चुनाव जित वा हारभन्दा माथि उठेर सिद्धान्त र आस्थाको राजनीतिमा अडिग रहने बताउनुभएको छ।
४४ औँ बिपी स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले कांग्रेस केवल चुनाव केन्द्रित पार्टी बन्न नहुने धारणा राख्नुभयो। उहाँले पार्टीलाई निर्वाचनमुखी सोचबाट बाहिर निकालेर विचार, संगठन र जनविश्वासमा आधारित राजनीतिक अभियानलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। “हामी चुनावी मेसिनजस्ता भएका छौँ, अब त्यसबाट बाहिर निस्कनुपर्छ,” उहाँले भन्नुभयो।
सभापति थापाले कांग्रेसका नेता–कार्यकर्ता बिपी कोइरालाको विचार र आदर्शबाट प्रेरित भएकाले एउटा चुनावको परिणामबाट अत्यधिक उत्साहित वा निराश हुन नहुने बताउनुभयो। उहाँले निर्वाचनको जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्दै सिद्धान्तमा दृढ रहनुपर्नेमा जोड दिनुभयो।
उहाँले समाज र पार्टीको मूल विचारधाराले स्वीकार नगर्ने प्रकारको गठबन्धनको राजनीति कांग्रेसले नअपनाउने स्पष्ट पार्नुभयो। “चुनाव हारिएला, जित नहोला भनेर आस्था र सिद्धान्तसँग सम्झौता गर्ने, समाजले स्वीकार नगर्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन। हामी आफ्ना सिद्धान्तमा अडिग रहँदै चुनावको सामना गर्छौँ,” सभापति थापाले भन्नुभयो।
उहाँले नेपाली कांग्रेसले बिपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक मूल्य, सिद्धान्त र जनविश्वासलाई आधार बनाएर आगामी राजनीतिक यात्रालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्