जनता टाइम्स

६ पुष २०७६, आईतवार १८:०३

नेकपा स्थायी समिति बैठक : परिमार्जित राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित (सबै निर्णयसहित)


काठमाडौं, पुष ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले सर्वसम्मतिले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यले उठाएका प्रश्नको जवाफ पुन दिएपछि राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सकिएको छ । प्रतिवेदनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धका विषयमा सामान्य परिमार्जन गरिएको छ ।

यस्ता छन् नेकपा स्थायी कमिटीका निर्णय

प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक २०७६ मंसिर २९ गते सुरु भई सात दिनसम्म चलेर आज मिति २०७६ पुस ६ गते सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको यस बैठकले निम्नअनुसार निर्णयहरू गरेको छ :

– पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्श भएको छ । तदनुरुप सदस्य कमरेडहरूद्वारा प्राप्त विचार, सुझाव र धारणाहरूको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गरेर अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गर्नुभयो र बैठकद्वारा सर्वसम्मतिले परिमार्जित राजनीतिक प्रतिवेदन पारित भएको छ ।

– पार्टी महासचिव कमरेड विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाहरूको आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको छ ।

– केन्द्रीय कमिटीको बैठक आगामी २०७६ साल पुस २३ गतेदेखि राजधानी काठमाडौंमा गर्ने निर्णय भएको छ । केन्द्रीय कमिटीको आगामी बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी सांगठानिक कामहरू (आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसंगठन) पूरा गरिसक्ने समेत बैठकले निर्णय गरेको छ ।

– हालै लिम्पियाधुरा उद्गमस्थल रहेको काली नदी पूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ । नेपाल–भारत समस्याको सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकोमा त्यसविपरीत प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, संघ–संस्था र सरोकारवालाहरूसँग गरेको सर्वपक्षीय र सर्वदलीय बैठकको आयोजना तथा त्यसमार्फत् सिंगो देशको एउटै दृष्टिकोण, धारणा र अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ । यसरी सिंगो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षहरूलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

– पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय भएको छ ।

बैठकमा समापन मन्तव्य राख्नुहुँदै पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस बैठकबाट पार्टीलाई एकताबद्ध गर्न, सांगठानिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको वहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन र हरहिसाबले पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुगेको धारणा राख्नुभयो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थताका कारण अनुपस्थित भएर पनि बैठक सफल पार्न राजनीतिक प्रतिवेदनको तयारीलगायत महत्वपूर्ण निर्णय प्रक्रिया एवं बैठक सञ्चालन र निष्कर्षमा पुग्न गर्नुभएको योगदानका निम्ति विशेष धन्यवाद ज्ञापन गर्नुभयो । साथै, सबै सदस्य कमरेडहरूले बैठकमा सक्रिय सहभागिता र योगदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

बैठकद्वारा पारित प्रस्तावहरू यसैसाथ संलग्न रहेका छन् :
समसामयिक प्रस्तावहरू
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ र उहाँ छिटै पूर्ण स्वस्थ भएर पूर्ववत् नियमित काममा फर्कनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछ ।

२. यो बैठक गत २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ । ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आाधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने यथार्थ पुष्टि भएको कुरामा हाम्रो पार्टी स्पष्ट छ । यस समस्याको समाधानका लागि नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समाधान गर्ने दुवै देशबीच यसअघि नै भइसकेको निर्णयविपरीत भारतले गरेको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने कुरा पार्टी स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले लिएका अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ र यस सम्बन्धमा नेपालका सबै राजनीतिक दल, पक्ष र सरोकारवालाहरूका बीचमा कायम भएको राष्ट्रिय सहमतिलाई पार्टी हार्दिक स्वागत गर्दछ । राष्ट्रिय सहमतिलाई सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ । साथै विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।

३. मुलुकका विभिन्न भू–भागमा विगत केही समय यता भएका पटक–पटकका सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति भएकोप्रति पार्टी अत्यन्त दुःखित र चिन्तित छ । वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न र यस समस्याको दिगो समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन, सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनीहरू लगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनहरूको नियमन गर्न र सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना गर्ने विषयमा ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं राहत प्रदान गर्न र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठक घाइतेहरूको उपचारको प्रबन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाहरूको शिक्षादीक्षा र जीवनयापनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।

४. तराईका विभिन्न जिल्लाहरूका सुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकहरूलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नहरूलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनहरूलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन र यस समस्याको दीर्घकालीन समाधान खोज्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
प्रमुख, केन्द्रीय प्रचार विभाग