काठमाडौं, साउन ८ । सामाजिक सञ्जालमार्फत भागवत कथा वाचिका राधिका दासीको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा पक्राउ पर्नुभएकी वेदिका केसी हाजिर जमानीमा रिहा हुनुभएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार उहाँलाई बिहीबार राति नै जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा रिहा गरिएको हो। उहाँ आज बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा उपस्थित हुने सर्तमा छुट्नुभएको प्रवक्ता गिरीले जानकारी दिनुभयो।
भागवत कथा वाचिक राधिका दासीको जाहेरीका आधारमा वेदिका केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानका लागि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयसँग १० दिनको म्याद माग गरेको भए पनि अदालतबाट एक दिनको मात्रै म्याद थप भएको थियो।
स्रोतका अनुसार जाहेरवाला राधिका दासीले उजुरी दर्ता गराए पनि वेदिका केसीलाई थुनामा नराखी सहमतिमार्फत विषय टुङ्ग्याउने इच्छा व्यक्त गर्नुभएको थियो। तर, मुद्दा फौजदारी प्रकृतिको भएकाले कानुनी व्यवस्थाअनुसार मिलापत्र गर्न नमिल्ने अवस्था रहेको बताइएको छ।
प्रहरीले आफ्नो तहबाट त्यस्तो सुविधा उपलब्ध गराउन नमिल्ने जानकारी गराएपछि उक्त विषय जिल्ला सरकारी वकिलको कार्यालयसमक्ष राखिएको थियो। घटनाबारे थप अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्