काठमाडौं, साउन ८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पुर्खाहरूले गरेको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरूले विश्वसामु शिर उच्च बनाएर गौरवका साथ उभिन सकेको बताउनुभएको छ।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षबाट प्रेरणा लिन सके मात्रै वर्तमानप्रति न्याय गर्न र समृद्ध भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उहाँले इतिहासका असल पक्षको अनुसरण गर्दै अघि बढ्न सके भविष्य निर्माणको सुनौलो मार्ग तय हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि वीर पुर्खाहरूले पुर्याउनुभएको योगदान अतुलनीय र अनुकरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले आपसी भाइचारा, सहिष्णुता, मित्रता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धतामा कुनै पनि हालतमा विचलन आउन नदिन आग्रह गर्नुभयो।
उहाँले यही राष्ट्रिय एकताको बलमा देशलाई समृद्धिको मार्गमा अघि बढाउन तथा भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गराउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। साथै, भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्दै सुशासनमार्फत विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै यही नै राष्ट्रिय विभूति भीमसेन थापालगायत वीर पुर्खाहरूप्रतिको सच्चा सम्मान हुने धारणा राख्नुभयो।
राष्ट्रपति पौडेलले भीमसेन थापालाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिने बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँले देशभक्ति नै भीमसेन थापाको मूलमन्त्र रहेको उल्लेख गर्दै अङ्ग्रेजसँगको युद्धमा ठूलो क्षति बेहोर्नुपरे पनि उहाँको अटल राष्ट्रभक्तिका कारण नेपाल स्वतन्त्र राष्ट्रका रूपमा कायम रहन सफल भएको बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्