जनता टाइम्स

८ श्रावण २०८३, शुक्रबार १५:३८

तत्काल पार्टी एकताभन्दा वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड 


काठमाडौं, साउन ८ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी दलहरूबीच तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै अहिलेका लागि साझा एजेण्डामा सहकार्य र कार्यगत एकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले हतारमा पार्टी एकता गरेर पछि पछुताउनुभन्दा साझा न्यूनतम कार्यक्रमका आधारमा अघि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्ग तथा समुदायका अधिकारको संरक्षण, संविधानको कार्यान्वयन र गणतन्त्रको सुदृढीकरणका लागि सबै वामपन्थी शक्तिबीच साझा पहल आवश्यक रहेको बताउनुभयो। अहिले नै पार्टी एकताको प्रयास गरिए फेरि आन्तरिक विवाद उत्पन्न हुन सक्ने भएकाले त्यसतर्फ हतार नगर्नुपर्ने उहाँको भनाइ थियो।

प्रचण्डले विगतका अनुभव र कमजोरीको निष्पक्ष समीक्षा नगरी पार्टी एकताको प्रक्रिया अघि बढाउन नहुने उल्लेख गर्नुभयो। उहाँले तत्कालका लागि कार्यगत एकता र सहकार्य भने सम्भव मात्र नभई अपरिहार्य रहेको बताउँदै त्यसमा इमान्दारीपूर्वक अघि बढ्न सके भविष्यमा पार्टी एकताका लागि पनि आधार तयार हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रदेश सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको पनि स्पष्ट पार्नुभयो। नेपाली कांग्रेस र नेकपा एमालेले बाँकी कार्यकाल सरकार सञ्चालन गरून् भन्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै दुई दलबीच सहमति हुन नसके राजनीतिक गाँठो फुकाउन भने आफ्नो पार्टी सकारात्मक भूमिका खेल्न तयार रहेको बताउनुभयो।

प्रचण्डले शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनपछि आफ्नो पार्टी अत्यधिक रूपमा काठमाडौं र सत्ता राजनीतिमा केन्द्रित भएको स्वीकार गर्नुभयो। सत्ता समीकरणलाई मात्रै प्राथमिकता दिनु रणनीतिक कमजोरी भएको उल्लेख गर्दै उहाँले त्यसक्रममा जनतासँगको सम्बन्ध सुदृढ गर्ने दीर्घकालीन राजनीतिक कार्यमा अपेक्षित ध्यान पुग्न नसकेको स्वीकार गर्नुभयो।

उहाँले कम्युनिस्ट आन्दोलनमा नयाँ पुस्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने काम पनि कमजोर भएको स्वीकार गर्नुभयो। राष्ट्रको स्वाधीनताको रक्षा, जनताबीच निरन्तर उपस्थित रहने, जनशक्ति सुदृढ गर्ने र जनतालाई संगठित एवं सक्रिय बनाइराख्ने मूल दायित्वबाट केही हदसम्म विमुख हुँदा आन्दोलन कमजोर बनेको उहाँको विश्लेषण थियो।