जनता टाइम्स

८ श्रावण २०८३, शुक्रबार १६:०५

भूराजनीतिक भुमरीमा मुलुकलाई धकेल्ने अनेकौँ प्रयत्न तारन्तार भइरहेका छन् : प्रदीप ज्ञवाली


काठमाडौं, साउन ८ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा भइरहेका गतिविधिका कारण मुलुक संवेदनशील मोडमा पुगेको बताउनुभएको छ। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नागरिक सचेत नभए संविधानमाथि नै चुनौती आउन सक्ने चेतावनी दिनुभयो।

उहाँले विगत सात दशकको राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिहरू जोखिममा परेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो। “झन्डै ७० वर्षदेखि हामीले हासिल गरेका उपलब्धिहरू धरापमा छन्,” भन्दै उहाँले लोकतान्त्रिक उपलब्धिहरूको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो।

नेता ज्ञवालीले वर्तमान शक्ति सन्तुलन संविधानको पक्षमा अनुकूल नरहेको दाबी गर्नुभयो। “शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ, संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीनवटा पार्टीहरू मिल्दा पनि प्रतिनिधिसभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ,” उहाँले भन्नुभयो।

उहाँले संविधानमा प्रतिकूल वा प्रतिगामी संशोधन हुन सक्ने जोखिमप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। प्रतिनिधिसभामा आवश्यक सङ्ख्या नहुँदा संविधानको मूल मर्मविपरीत हुने संशोधन रोक्न चुनौतीपूर्ण अवस्था रहेको उहाँको भनाइ थियो। यद्यपि राष्ट्रिय सभाले केही हदसम्म सन्तुलन कायम गर्ने अपेक्षा आफूले गरेको बताउनुभयो।

भूराजनीतिक अवस्थाबारे टिप्पणी गर्दै ज्ञवालीले नेपाललाई विभिन्न शक्तिहरूको प्रतिस्पर्धाको केन्द्र बनाउने प्रयास भइरहेको बताउनुभयाे । “भूराजनीतिक भुमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारन्तार भइरहेका छन्,” उहाँले भन्नुभयो।

उहाँले सैन्य अधिकारीहरूको निरन्तर भ्रमण, ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि तथा दलाई लामाको जन्मोत्सवजस्ता विषयलाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता गतिविधिले मुलुकको संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने धारणा राख्नुभयो।

त्यसैगरी, प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै नेता ज्ञवालीले त्यस्ता अभिव्यक्तिले नेपाललाई भूराजनीतिक जटिलतामा धकेल्ने जोखिम बढाउन सक्ने बताउनुभयो। उहाँले राष्ट्रिय हित, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सबै राजनीतिक शक्ति जिम्मेवार र सचेत बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।