जनता टाइम्स

८ श्रावण २०८३, शुक्रबार १६:१५

राजनीतिका विकृति अन्त्य गर्न वामपन्थीले आत्मसमीक्षा गर्नुपर्छ : माधव नेपाल


काठमाडौं, साउन ८ । नेकपाका सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएका विकृति–विसङ्गतिको अन्त्यका लागि वामपन्थी शक्तिहरूले आफ्नै भूमिका र कार्यशैलीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ।

४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले वामपन्थी आन्दोलनले विगतमा निर्वाह गरेको भूमिकाको वस्तुगत समीक्षा गर्ने समय आएको उल्लेख गर्नुभयो। अरूलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने भन्दै आफ्ना कमजोरीलाई पनि इमान्दारीपूर्वक स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, नेपालको राजनीतिमा रहेका विकृति–विसङ्गतिहरूबाट वामपन्थीहरू पनि मुक्त छैनन्, त्यसैले आफ्नो भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ, अरूलाई आरोप मात्र लगाएर पुग्दैन।”

नेता नेपालले विगतका सकारात्मक र नकारात्मक दुवै पक्षलाई खुलेर स्वीकार गर्न सके मात्रै राजनीतिक संस्कृतिमा सुधार सम्भव हुने धारणा राख्नुभयो। कमजोरीलाई कमजोरीकै रूपमा स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सके कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो। राजनीतिक दलहरूले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य–मान्यता र जनजीविकाका सवाललाई प्राथमिकतामा राखेर साझा बहस अघि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। एउटा नयाँ छलफल सुरु गरौँ। राष्ट्रियताको बारेमा, लोकतन्त्रको बारेमा, जनजीविकाको बारेमा तथा विगतमा कम्युनिस्टहरू र नेपालका राजनीतिक दलहरूले खेलेको भूमिकाको समीक्षा र मूल्याङ्कन गरौँ,” उहाँले भन्नुभयो।

नेता नेपालले राजनीतिक दलहरूले विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्न सके मात्रै मुलुकमा सुशासन, लोकतन्त्रको सुदृढीकरण र जनविश्वास कायम गर्न सकिने धारणा व्यक्त गर्नुभयो।