काठमाडौं, साउन ८ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले खुला सिमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको बताउनु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक (आइजीप) कार्कीले यस्तो बताउनु भएको हो ।
उहाँले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताउनु भयो । बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा, संगठित अपराध र पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विषयमा गम्भीर चासो व्यक्त गर्नुभयो ।
आइजीपी कार्कीका अनुसार एक हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित छन् । यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरू समेत समावेश छन ।
सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भुमिका खेलिरहेको कार्कीले बताउनु भयो । बैठकमा महानिरीक्षक कार्कीले खुला सीमानाका कारण निम्तिएका सुरक्षा चुनौतीहरूको जानकारी पनि दिनुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसारले तराईदेखि हिमालका चुचुरासम्मका युवाहरू प्रभावित भएको पनि बताउनु भयो ।
यस्तै आएजीपी कार्कीले लागुऔषध मात्र नभई हातहतियार र विस्फोटक पदार्थको ओसारपसार, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र मानव बेचबिखन जस्ता संगठित अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती बनेको बताउनु भयो । महानिरीक्षक कार्कीले भन्सार छली र तस्करी नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र आन्तरिक आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउनु भयो ।
आइजीपी कार्कीका अनुसार सीमा क्षेत्रमा हुने अपहरण र शरीर बन्धक जस्ता घटनाले नागरिकको सुरक्षा अनुभूतिमा प्रत्यक्ष असर पुर्याएको छ । पछिल्लो समय नक्कली मुद्राको कारोबार र डिजिटल ठगी नयाँ चुनौतीका रूपमा उदाएको पनि उहाँले बताउनु भयो । आइजीपी कार्कीका अनुसार पछिल्लो समय सीमापारि नक्कली नेपाली रुपैयाँ उत्पादन गरी नेपालमा वितरण गर्ने गरिएको र डिजिटल वालेटमार्फत नागरिकको बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढेको छ ।
यसैगरी चिट्ठा परेको प्रलोभन देखाएर गरिने साइबर ठगी, अनलाइन सट्टेबाजी र हुण्डी कारोबारले वित्तीय सुरक्षामा गम्भीर असर पारेको आइजीपी कार्कीले बताउनु भयो । संसदीय समितिमा जानकारी दिनेक्रममा उहाँले सीमा क्षेत्रमा हुने डुबान, वन पैदावार र नदीजन्य पदार्थको अवैध दोहन तथा कवाडी सामानको तस्करीका कारण समूहगत द्वन्द्व बढ्ने गरेको बताउनु भयो ।
यसैगरी उहाँले सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले गत आर्थिक वर्षमा विशेष सक्रियता देखाएको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा सीमा क्षेत्रमा मात्रै १ हजार ३ सय ६९ पटक अनुगमन र २ सय ९७ पटक विशेष गस्ती गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्