जनता टाइम्स

९ श्रावण २०८३, शनिबार ०९:१२

मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, आठ घर उच्च जोखिममा


काठमाडौं, साउन ९। मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उहाँका आमाबुबा घाइते हुनु भएकाे छ। नेपाल प्रहरीका अनुसार शनिबार बिहान भएको उक्त घटनापछि प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान करिब ४ बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आउनुभएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा घरमाथिबाट ढुंगासहितको पहिरो खसेको थियो।

पहिरोमा च्यापिनुभएका बालक रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी बिहान ४ः४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो। उपचारका क्रममा बिहान ५ः४५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको नेपाल प्रहरीले जनाएको छ।

घटनामा घाइते हुनुभएका जगनाथ बडुवाल र सृजना बडुवालको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। साथै, थप पहिरो खस्ने जोखिम रहेकाले आसपासका आठ घर उच्च जोखिममा परेका छन्। सम्भावित मानवीय क्षति रोक्न स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै जोखिमको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ।