काठमाडौं, साउन ९ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले नेपाली पत्रकारहरू विदेशमा रहेका सबै नेपालीलाई नेपालसँग जोड्ने महत्वपूर्ण सेतु भएको बताउनुभएको छ। उहाँले विदेशमा बस्ने तथा विदेशमै जन्मिएका नेपालीलाई मातृभूमिसँग जोड्ने सबैभन्दा प्रभावकारी माध्यम पत्रकारिताका सामग्री (कन्टेन्ट) नै भएको उल्लेख गर्नुभयो।
नेपाल पत्रकार महासंघ जापान शाखाले शनिबार जापानको टोकियोमा आयोजना गरेको ग्लोबल मिडिया कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले भन्नुभयो, “विदेशमा बस्ने र विदेशमा जन्मिएका नेपालीलाई कसरी नेपालसँग जोड्न सकिन्छ भन्ने विषय नै नेपाली पत्रकारहरूले उत्पादन गर्ने कन्टेन्टको केन्द्रमा रहेको हुन्छ।”
उहाँले नेपाल निर्माणको अभियान अब नेपालभित्र रहेका नागरिकको प्रयासले मात्र सम्भव नहुने बताउँदै विदेशमा रहेका नेपालीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब नेपालमा रहेका नेपालीले मात्र नेपाल धान्न सक्दैनन्, विदेशमा रहेका सबै नेपालीको सहयोग र सहभागिताबिना नेपाललाई अघि बढाउन सकिँदैन।”
अध्यक्ष शर्माले लोकतन्त्र, संविधान, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षणमा गैरआवासीय नेपालीहरूको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “मतदानका बेला मात्र कुरा उठाउने होइन, संविधान, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पनि नेपालबाहिर रहेका नेपालीहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।”
नेपालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीलाई पनि यी मुद्दासँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले नेपालको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको अवस्था ओरालो लागेको छ, त्यसैले बाहिर बस्ने नेपालीलाई पनि यी मुद्दामा जोड्न आवश्यक छ।”
पत्रकारहरू अहिले भौतिक, आर्थिक र पेसागत रूपमा असुरक्षित बन्दै गएको उल्लेख गर्दै अध्यक्ष शर्माले सूचना प्राप्तिमा लगाइने बन्देजले स्वतन्त्र पत्रकारितामाथि थप चुनौती सिर्जना गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “पत्रकारहरू भौतिक रूपमा पनि असुरक्षित छन्, पेसागत रूपमा पनि असुरक्षित छन्। सूचनामा बन्देज लगाइँदा पत्रकारितामै असर परेको छ, राज्य नियन्त्रित सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको रोजीरोटीसमेत संकटमा परेको अवस्था छ।”
विश्वव्यापी रूपमा सञ्चारमाध्यमको स्वरूप र अभ्यास तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै उहाँले पत्रकारिता अब अन्तर्राष्ट्रिय अभ्यासका रूपमा विकसित भइसकेको बताउनुभयो।
सरकार र पत्रकार लोकतान्त्रिक व्यवस्थाका परिपूरक भए पनि नेपालमा त्यो सम्बन्ध कमजोर बन्दै गएको टिप्पणी गर्दै अध्यक्ष शर्माले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध पत्रकार समुदाय निरन्तर उभिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “सरकारले संविधान, कानुन र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा पत्रकार हात बाँधेर बस्दैनन्, कलम बन्द गरेर बस्दैनन्, अभिव्यक्ति स्वतन्त्रता संकुचन हुन नदिन नेपाल पत्रकार महासंघ सरकारसँग निरन्तर संघर्ष गरिरहेको छ।”
उहाँले अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दा विदेशमा रहेका नेपालीको साथ र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “संकटका बेला बाहिर बस्ने नेपालीको सहयोग आवश्यक छ, अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दा उहाँहरूको साथ हाम्रो ठूलो शक्ति बन्न सक्छ।”
अध्यक्ष शर्माले फेक तथा डिपफेक सूचनाको बढ्दो प्रभावले समाजमा भ्रम सिर्जना गरिरहेको उल्लेख गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमको भूमिका झन् महत्वपूर्ण बनेको बताउनुभयो। उहाँले सही सूचना प्रवाहमार्फत समाजलाई भ्रमबाट जोगाउन जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेकोमा जोड दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्