जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १५:२७

उज्यालो नेपाल पार्टीको संगठनात्मक सुदृढीकरण र समृद्ध नेपालको मार्गचित्र बनाउन केन्द्रीय समिति बैठक 


काठमाडौ, साउन ९ । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको १०औँ पूर्ण बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय, त्रिपुरेश्वरमा  प्रारम्भ भएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङज्यूको अध्यक्षतामा सुरु भएको बैठक लगातार ३ दिनसम्म सञ्चालन हुने बताइएकाे छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाको सूक्ष्म विश्लेषण गर्दै पार्टीको भावी राजनीतिक कार्यदिशा तथा सैद्धान्तिक र वैचारिक दृष्टिकोणका सम्बन्धमा घनीभूत छलफल भइरहेको छ। यसै गरी, देशको आर्थिक रूपान्तरणका लागि हरित क्रान्ति सम्बन्धी प्रस्ताव, संगठन विस्तारको योजना, स्रोत परिचालन तथा आर्थिक व्यवस्थापनका साथै आगामी निर्वाचनको तयारी र रणनीतिक योजनाका विषयमा पनि गहन संवाद भइरहेको छ।

यसका साथै, पार्टीभित्र जिम्मेवारी बाँडफाँड र नेतृत्व व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै अन्य राजनीतिक दलहरूसँगको अन्तरपार्टी संवाद तथा सहकार्यलाई अघि बढाउने विषयमा पनि छलफल केन्द्रित रहेको छ। बैठकमा पार्टीका विभिन्न संस्थागत कार्यविधि र निर्देशिकाहरूका सम्बन्धमा विस्तृत विचार-विमर्श गरी तिनीहरूलाई परिमार्जन र सुदृढ बनाइनेछ।

राष्ट्र, जनता र समृद्ध नेपालको लक्ष्यलाई केन्द्रमा राखेर अघि बढिरहेको उज्यालो नेपाल पार्टीको यो १०औँ पूर्ण बैठकले देशको राजनीतिक, आर्थिक र संगठनात्मक यात्रामा नयाँ ऊर्जा, स्पष्ट दिशा र सशक्त संकल्प प्रदान गर्ने विश्वास लिइएको छ।

बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेको र आगामी दुई दिनभित्र बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्दै महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्नेछ।