जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १६:२३

पपुलिजम र एल्गोरिदमकाे जगमा बनेकाे बालेन्द्र सरकार लामो समय टिक्दैन : शंकर पोखरेल


काठमाडौं, साउन ९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले आफ्नो कमजोरीको आत्मसमीक्षा गर्दै श्रमजीवी वर्ग र युवामाझ पुनः विश्वास स्थापित गर्नुपर्ने बताउनुभएको छ।

स्वर्गीय नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलन अहिले वैचारिक, राजनीतिक र प्रविधिगत चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो।उहाँले कुनै पनि आन्दोलन वा नेतृत्व कमजोरीबाट मुक्त हुन नसक्ने भन्दै आत्मसमीक्षा आवश्यक रहेको बताउनुभयो। “कमजोरीबाट मुक्त कोही पनि छैन, कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

नेपालका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिमाथि विभिन्न ढंगले प्रहार भइरहेको दाबी गर्दै उहाँले नेपालको राजनीतिक भविष्य नै चुनौतीमा परेको टिप्पणी गर्नुभयो। “हामीमाथि प्रहार भइरहेको छ, हाम्रो अस्तित्व र भविष्य माथि नै प्रहार हुँदै छ,” उहाँले भन्नुभयो।

विश्वव्यापी रूपमा पुँजीवादले विज्ञान, प्रविधि र ज्ञान प्रणालीमाथि प्रभाव विस्तार गर्दै लोकतान्त्रिक शक्तिप्रति नकारात्मक धारणा निर्माण गरिरहेको उहाँको भनाइ थियो। “विज्ञान, प्रविधि र ज्ञानसिद्धान्तलाई कब्जा गरेर आज विश्वव्यापी रूपमा पुँजीवाद बलशाली भएको छ,” उहाँले बताउनुभयो।

महासचिव पोखरेलले नेकपा गठनपछि बनेको शक्तिशाली सरकारसँगै पार्टी समाजका विभिन्न वर्गबाट क्रमशः टाढिँदै गएको आत्मसमीक्षा पनि गर्नुभयो। “नेकपा बनेर शक्तिशाली सरकार बनाएपछि हामीबाट वर्गहरू टाढा हुने क्रम सुरु भएको देखिन्छ। २०८२ को निर्वाचनमा आइपुग्दा त हामीसँग कार्यकर्ता र कार्यकर्ताका परिवार मात्र रहे, हामीसँग कुनै वर्ग छैन, सबै हामीबाट टाढिए,” उहाँले भन्नुभयो।

सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रभावबारे चर्चा गर्दै उहाँले एल्गोरिदममार्फत कम्युनिष्ट शक्तिलाई परम्परागत जनाधारबाट टाढा पार्ने प्रयास भएको दाबी गर्नुभयो। “एल्गोरिदमका माध्यमबाट कम्युनिष्टलाई वर्गबाट टाढा पार्ने काम गरियो, अहिलेको चुनौती यही हो,” उहाँले भन्नुभयो।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को उदयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले पपुलिजम र एल्गोरिदममा आधारित राजनीति दीर्घकालीन नहुने टिप्पणी गर्नुभयो। “आज बालेन्द्र सरकार पपुलिजम र एल्गोरिदमबाट जसरी खडा भएको छ, त्यो त्यति लामो समय रहँदैन, जति छिटो उदय भएको छ, यो त्यति नै छिटो पतन हुन्छ,” उहाँले भन्नुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर बन्दै गए पनि त्यसबाट स्वतः कम्युनिष्ट शक्तिकै पक्षमा जनमत फर्किने अवस्था नरहेको उहाँको भनाइ थियो। “अहिलेको रास्वपाको असफलतामा जनमत हामीतिरै फर्कन्छ भन्ने छैन,” उहाँले भन्नुभयो।

कम्युनिष्ट आन्दोलनलाई पुनः जनतासँग जोड्न युवालाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले “त्यसैले हामीले जनमत कम्युनिष्टहरूको पक्षमा फर्काउन युवा केन्द्रित अभियान सञ्चालन गर्न आवश्यक छ। आजका युवालाई समाज परिवर्तनको ध्येय र उद्देश्यसँग जोड्न आवश्यक छ,” भन्नुभयो।

नेपालको समाजमा श्रमजीवी वर्गको निर्णायक भूमिका रहेको उल्लेख गर्दै महासचिव पोखरेलले उनीहरूमाझ वैचारिक अभियान सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। “श्रमजीवी वर्गको वर्चश्व रहेको नेपाली समाजमा श्रमजीवीहरूलाई सो कुरा बुझाउन आवश्यक छ, त्यसो गर्न सकियो भने कम्युनिष्ट जनमतलाई फर्काउन सकिन्छ,” उहाँले बताउनुभयो।