जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १६:४७

संविधान संशोधनको नाममा लोकतन्त्रमाथि प्रहार स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ


काठमाडौं, साउन ९ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको बताउनुभएको छ। उहाँले संविधान संशोधन आवश्यक भए पनि त्यसको नाममा संविधान र लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा गैरजिम्मेवार ढंगले काम गरिरहेको बताउनुभयो।“वर्तमान सरकार राष्ट्र र राष्ट्रिय स्वाभिमानविरुद्ध अघि बढेको छ,” उहाँले भन्नुभयो। “नेपालले कहाँकहाँ भारतको भूमि मिचेको छ भनेर पुष्टि गर्न खोज्दै हिँड्ने काम भइरहेको छ। नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन।”

संविधान संशोधनको विषयमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूहरू संविधान संशोधनको पक्षमा रहे पनि त्यसलाई लोकतान्त्रिक व्यवस्था कमजोर बनाउने माध्यम बनाउन नहुने बताउनुभयो। “संविधान संशोधनको कुरा गर्दा गैरजिम्मेवार ढंगले प्रक्रिया अघि बढाइँदै छ, हामी संविधान संशोधनको पक्षमा छौँ। तर संविधान संशोधनको नाममा संविधान र लोकतन्त्रको हत्या गर्न दिनु हुँदैन, त्यसको विरुद्ध हामी उठ्नुपर्नेछ,” उहाँले भन्नुभयो।

नेता श्रेष्ठले प्राज्ञिक तथा शैक्षिक संस्थालाई दलगत प्रभावबाट मुक्त बनाउने नाममा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास उचित नभएको धारणा राख्नुभयो। न्यायपालिका र संवैधानिक निकायमा हुने नियुक्तिको शैलीमाथि पनि प्रश्न उठाउँदै उहाँले सरकारले दलियकरण अन्त्यको नाममा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो। “प्राज्ञिक र शैक्षिक संस्थालाई राजनीतिबाट मुक्त बनाउने कुरा र विद्यार्थी संगठन तथा ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने कुरा एउटै होइन,” उहाँले भन्नुभयो। “दलियकरणबाट मुक्त भन्ने, तर आफ्नो पक्षमा फैसला गर्ने न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष बनाइदिने, कामु प्रधानन्यायाधीशले भनेको नमानेको व्यक्तिलाई संवैधानिक आयोगको प्रमुख बनाइदिने, यही हाे दलियकरणमुक्त भनेकाे ?”

सरकारले भूमिहीन तथा सुकुम्बासीमाथि दमन गरेको बताउँदै उहाँले उनीहरूलाई बसोबास गरिरहेको स्थानबाट सुरक्षाकर्मी परिचालन गरेर हटाइएको टिप्पणी गर्नुभयो। “सुकुम्बासीलाई सरकारले सैनिक लगाएर बसेको ठाउँबाट उठाएर बेहाल बनाएको छ, यस्तो बेला हामी सडकमा निस्कन सकेनौँ,” उहाँले आत्मसमीक्षा गर्नुभयो।

कम्युनिष्ट आन्दोलनभित्र देखिएको निराशा, पलायनवाद, यथास्थितिवाद र तदर्थवादप्रति चिन्ता व्यक्त गर्दै नेता श्रेष्ठले रूपान्तरणको नयाँ अभियान आवश्यक रहेको बताउनुभयो। “अहिले कम्युनिष्ट आन्दोलनमा निराशा र पलायनवादी प्रवृत्ति बढेको छ, अर्कोतिर यथास्थितिवादी र तदर्थवादी प्रवृत्ति देखिएको छ, यी दुवै प्रवृत्तिलाई छाडेर परिवर्तन र रूपान्तरणको बाटोमा अघि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले रूपान्तरणका लागि स्पष्ट वैचारिक दृष्टिकोण, जनतासँग नयाँ ढंगको सम्बन्ध, पार्टी पुनर्गठन तथा लोकतान्त्रिक शक्तिसँग कार्यगत एकताको आवश्यकता औँल्याउनुभयो । “रूपान्तरणका लागि स्पष्ट वैचारिक दृष्टिकोण आवश्यक छ, जनतासँगको सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ, वैचारिक तथा सांस्कृतिक संकट आजको हाम्रो मूल संकट हो,” उहाँले भन्नुभयो।

उहाँले विचार मिल्ने लोकतान्त्रिक शक्तिहरूसँग कार्यगत एकता गर्दै पुनर्गठित र रूपान्तरित एकीकृत कम्युनिष्ट पार्टी निर्माणको अभियानलाई अगाडि बढाउनुपर्नेमा समेत जोड दिनुभयो।