काठमाडौं, साउन ९ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले पदबाट राजीनामा दिनुभएको छ। प्रदेश सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उहाँले शनिबार प्रदेश सभा बैठकमै राजीनामाको घोषणा गर्नुभएको हो।
राजीनामा घोषणा गर्दै मुख्यमन्त्री कंडेलले व्यक्तिगत रूपमा पदमा टिकिरहनुभन्दा प्रदेशको राजनीतिक निकास र सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो। आफूले कसैलाई प्रभाव पार्ने वा सत्ता जोगाउन कुनै प्रयास नगरेको उल्लेख गर्दै मार्ग प्रशस्त गर्न स्वेच्छाले पद छाड्ने निर्णय गरेको स्पष्ट पार्नुभयो। “ममाथि अविश्वासको प्रस्ताव आएको छ, त्यसैले मार्ग प्रशस्त गर्न मैले मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री कंडेलले नेपाली कांग्रेससँगको सत्ता सहकार्यका क्रममा विभिन्न अनुभव हासिल भएको उल्लेख गर्दै कर्णाली प्रदेश बाहिरबाट हेर्दा जति सुन्दर देखिए पनि भित्रका चुनौतीहरू फरक रहेको बताउनुभयो। “कर्णाली बाहिरबाट हेर्दा सुन्दर देखिन्छ, तर भित्रबाट बुझ्दा त्यति सुन्दर अवस्था छैन, तर पनि यसलाई अझ सुन्दर बनाउन हामी सबै सामूहिक सहकार्यका साथ अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेश सरकारमा केही थिति, विधि र कार्यसंस्कृतिमा सुधार ल्याउने प्रयास गरेको बताउँदै त्यसले कतिपयलाई असहज बनाएको टिप्पणी गर्नुभयो। सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै व्यक्तिगत स्वार्थभन्दा संस्थागत सुधारलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो।
सरकार सञ्चालनका क्रममा आफूले सहकार्य र समन्वयलाई महत्व दिएको उल्लेख गर्दै सरकारमा सहभागी केही मन्त्रीहरूले आफूलाई पूर्वजानकारी नै नदिई राजीनामा बोकेर आएको घटनाप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। त्यस्तो निर्णयअघि छलफल गरेको भए परिस्थिति फरक हुन सक्ने उहाँको भनाइ थियो।
राजनीतिक सन्दर्भमा बोल्दै मुख्यमन्त्री कंडेलले वर्तमान अवस्थामा संविधान पक्षधर, लोकतन्त्रवादी र वामपन्थी शक्तिबीचको एकता अझ आवश्यक रहेको धारणा राख्नुभयो। “आज लोकतन्त्रवादीहरूले आफ्नो निष्ठा, आदर्श र सिद्धान्त जोगाउने विषयलाई प्रमुख रूपमा लिनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो।
उहाँले दुई वर्षको कार्यकालमा कर्णाली प्रदेश र जनप्रतिनिधिप्रति विकास निर्माणका विषयमा रहेको नकारात्मक धारणा केही हदसम्म कम गर्न सफल भएको दाबी गर्नुभयो। प्रदेशको विकास र सुशासनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिकप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
मुख्यमन्त्री कंडेलले नेपालमा वामपन्थी शक्तिबीच सहकार्यबारे छलफल चलिरहेको उल्लेख गर्दै संविधानको पक्षमा रहेका सबै राजनीतिक शक्ति ढिलो–चाँडो एउटै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय राजनीतिमा लोकतान्त्रिक र संविधानवादी शक्तिबीचको एकता समयको आवश्यकता भएको उहाँले बताउनुभयो।
प्रदेश सभामा राजीनामा घोषणा गरेसँगै कर्णाली प्रदेशको नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने भएको छ। आजै नेकपा र नेकपा एमालेका पार्टी अध्यक्षहरु बिच भएकाे छलफलमा कर्णाली प्रदेशकाे नेतृत्व नेकपालाई दिने र दुई दलकाे सरकार बनाउने सहमति भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्