काठमाडौं, साउन १० । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले बिपी राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्गलगायतका सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध यथावत् राखिएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यसैगरी, वर्षायामका कारण कान्ति लोकपथमा पनि अर्को सूचना जारी नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा हिलो थुप्रिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो तथा वडा नं. २ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
यसैबीच, लामाेसाँघु–रामेछाप राजमार्गको केही भागमा तामाकाेशी नदीले कटान गरेपछि यातायात सेवा अवरुद्ध भएको छ। वैकल्पिक व्यवस्थास्वरूप खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै सवारी आवागमन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
रसुवातर्फको पासाङ ल्हामु सडकखण्डमा पहिरो खसेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकसमेत अवरुद्ध भएको छ। त्यस्तै, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित घ्याकर खोलामा जलसतह बढेपछि जोमसोम–कोरला सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, स्थानीय तह तथा सम्बन्धित निकायले पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएका छन्। प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित पालना गर्न आग्रह गरेको छ।















प्रतिक्रिया दिनुहोस्