जनता टाइम्स

१० श्रावण २०८३, आईतवार ०९:२९

कपिलवस्तुमा बस–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, बारा र धनुषामा पनि दुईकाे ज्यान गयाे 


काठमाडौं, साउन १० । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले आइतबार राति १ः५० बजे मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी छ। उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ निवासी २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

यसै बिच बारा र धनुषामा भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बाराको करैयामाई गाउँपालिका–८ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय उमेश शाह सुनारको मृत्यु भएको छ । उनको उपचारको क्रममा न्युरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पवन शाह सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।

मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।