काठमाडौं, साउन १० । “सञ्चार माध्यममार्फत विश्वलाई जोड्ने प्रवासी नेपाली आवाज” भन्ने मूल नारासहित नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानको राजधानी टोकियोमा सुरु भएको ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६ सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको इतिहासमा जापान शाखाले आयोजना गरेको यो पहिलो अन्तर्राष्ट्रिय ग्लोबल मिडिया कन्फ्रेन्स हो।
एकदिने सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय समिति, विभिन्न प्रदेश समितिका प्रतिनिधिका साथै अमेरिका, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, दक्षिण कोरिया, बेल्जियम र जापानसहित ११ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पदाधिकारी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्मेलनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, जिम्मेवार पत्रकारिताको प्रवर्द्धन तथा विश्वभर रहेका नेपाली पत्रकारबीच एकता र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनु ।
कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले लोकतान्त्रिक समाज निर्माणमा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रवासमा रहेका नेपाली सञ्चारकर्मीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिइरहेको बताउनु भएको थियो ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पत्रकारिताको जिम्मेवार प्रयोग, प्रवास पत्रकारिताको वर्तमान अवस्था र चुनौती, नेपाल पत्रकार महासंघ र वैदेशिक शाखाबिचको सम्बन्ध, प्रवासी नेपाली समुदायसँग सञ्चारमाध्यमको सहकार्य तथा नेपालमा लगानी प्रवर्द्धनमा डायस्पोरिक मिडियाको भूमिकालगायत समसामयिक विषयमा गहन छलफल भएको थियो।
सम्मेलनले ‘टोकियो घोषणापत्र–२०२६’ जारी गर्दै प्रवासी पत्रकारको भूमिकालाई संस्थागत रूपमा थप सुदृढ गर्ने, नेपाल पत्रकार महासंघको केन्द्रीय संरचनामा वैदेशिक शाखाको प्रतिनिधित्व सुनिश्चित गर्ने, केन्द्रीय निर्वाचनमा वैदेशिक शाखाको मतदान अधिकार प्रदान गर्ने, महासंघ र वैदेशिक शाखाबिच समन्वयलाई प्रभावकारी बनाउने तथा विश्वभर रहेका नेपाली पत्रकारबीच पेसागत एकता र सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाले सम्मेलन सफल बनाउन सहयोग पुर्याउने नेपाल पत्रकार महासंघका केन्द्रीय तथा प्रदेश समिति, ११ वैदेशिक शाखा, अतिथि, वक्ता, सहयोगी संस्था, प्रायोजक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
आयोजकका अनुसार टोकियोमा पहिलो पटक सम्पन्न भएको यस सम्मेलनले विश्वभर छरिएका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्दै अनुभव आदान–प्रदान, पेसागत एकता, संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइ प्रदान गरेको विश्वास लिइएको छ।














प्रतिक्रिया दिनुहोस्