काठमाडौं, साउन १० । नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा आजदेखि ‘मिसन पार्टी जागरण’ अभियान सुरु गरेको छ। अभियानको शुभारम्भ कपिलवस्तुको चन्द्रौटाबाट गरिएको हो।
एमाले लुम्बिनी प्रदेश कमिटीको आठौँ पूर्ण बैठकसँगै अभियानको औपचारिक उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्नुभएको हो। अभियान उद्घाटनका लागि महासचिव पोखरेल कपिलवस्तु पुग्नुभएको थियो।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार प्रदेशव्यापी रूपमा सञ्चालन गरिने अभियानमा प्रदेशबाट नेतृत्व गर्दै विभिन्न जिम्मेवारीमा रहेका पार्टीका नेताहरूको सहभागिता रहनेछ। यसअघि पनि कपिलवस्तुमै पार्टी पुनर्गठन तथा जागरण अभियानको तयारीबारे छलफल गरिएको थियो।
पार्टीका अनुसार ‘मिसन पार्टी जागरण’ अभियानको मुख्य उद्देश्य संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई थप प्रभावकारी बनाउनु रहेको छ।

अभियानमार्फत गाउँ–गाउँ र बस्ती–बस्ती पुगेर जनताका आवाज सुन्ने, पार्टी र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने तथा संगठनलाई अझ सक्रिय र सशक्त बनाउने लक्ष्य राखिएको एमालेले जनाएको छ।
एमालेले अभियानले पार्टीलाई जनताको अझ नजिक पुर्याउँदै संगठन विस्तार र जनविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।














प्रतिक्रिया दिनुहोस्