जनता टाइम्स

१० श्रावण २०८३, आईतवार १९:५२

चिकित्सकमाथि भएकाे आक्रमणका विरुद्ध नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द


काठमाडौं, साउन १० । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दै आकस्मिक सेवासमेत बन्द गरेर आन्दोलन सुरु गरेका छन्। अस्पतालमा आकस्मिक सेवा बन्द गरिएको यो पहिलो पटक भएको जनाइएको छ।

शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उहाँका आफन्तहरूले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गर्नुका साथै उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए।

घटनापछि नारायणी अस्पतालले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको जनाएको छ।

यस घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले आइतबार विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही, निलम्बनमा परेका चिकित्सकहरूको निलम्बन फुकुवा लगायत चार सूत्रीय माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो।

चिकित्सकहरूले आफ्ना माग पूरा नभएसम्म आकस्मिक सेवासहित अस्पतालका सबै स्वास्थ्य सेवा बन्द रहने चेतावनी दिनुभएको छ।