जनता टाइम्स

१० श्रावण २०८३, आईतवार २०:४२

एमालेमा वैचारिक पुनर्गठन आवश्यक, प्रदेश सरकारमा नेकपासँग मिल्नु बाध्यता : महासचिव पोखरेल


काठमाडौं, साउन १० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई थप सुदृढ बनाउन अब वैचारिक पुनर्गठन आवश्यक रहेको बताउनुभएको छ।

लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमालेले राजनीति गर्दै आएको श्रमजीवी तथा उत्पीडित वर्ग पार्टीबाट क्रमशः टाढिँदै गएको बताउनुभयो। “हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौँ, आज त्यही वर्ग हामीसँग रहेन। उहाँहरूले हामीलाई विश्वास गर्नुभएन,” महासचिव पोखरेलले भन्नुभयो।

श्रमजीवी वर्गको साथ कमजोर बन्दा पार्टी बलियो बन्ने आधारसमेत कमजोर भएको उहाँको भनाइ थियो। उत्पीडित वर्गको नेतृत्व युट्युबहरूले गर्न थालेको, विद्यार्थी एमालेसँग नजोडिएको, किसान आन्दोलनबाट विकसित भएको पार्टीलाई किसानले विश्वास नगरेको तथा एमाले सरकारमा हुँदा न्याय हुन्छ भन्ने जनविश्वाससमेत कमजोर बनेको उहाँले उल्लेख गर्नुभयो।

महासचिव पोखरेलले अब एमालेले कसैको निर्देशनमा नभई आफ्नै योजना र दृष्टिकोणका आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। पार्टीका कार्यकर्ताको भावना र पार्टीको दीर्घकालीन हितलाई केन्द्रमा राखेर खुला रूपमा निर्णय गर्न नेतृत्व तयार हुनुपर्ने उहाँले बताउनुभयो।

सामाजिक सञ्जालमार्फत एमालेविरुद्ध नकारात्मक भाष्य निर्माण गरिएकाले पार्टीले गरेका सकारात्मक कामसमेत ओझेलमा परेको उहाँको भनाइ थियो। त्यस प्रकारको भ्रम चिर्न प्रभावकारी रूपमा जनतामाझ पुग्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनुभयो।

स्थानीय तह निर्वाचनपछि नै सहरी समुदाय, नवयुवा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सुकुम्वासी समुदाय पार्टीबाट टाढिँदै गएको तथ्य स्पष्ट भएको स्मरण गर्दै उहाँले त्यसकै आधारमा ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभयो। अभियान सफल भए पनि युवालाई लक्षित कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको उहाँले स्वीकार गर्नुभयो।

महासचिव पोखरेलले नेताहरू जनतामाझ पुग्नुभन्दा जनता नेताहरूको पहुँचमा पुग्नुपर्ने अवस्था सिर्जना भएकाले पार्टी र जनताबीच दूरी बढेको उल्लेख गर्दै एमाले सत्तामुखीभन्दा जनतामुखी बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सूचना तथा प्रविधि अबको राजनीतिको प्रमुख आधार बनेको उल्लेख गर्दै यसको सही र प्रभावकारी उपयोगका लागि व्यापक रूपमा युवाको परिचालन आवश्यक रहेको बताउनुभयो।

वर्तमान सरकारबारे टिप्पणी गर्दै महासचिव पोखरेलले यसको आधार लोकप्रियतावाद र अराजकतावादमा रहेको दाबी गर्नुभयो। उक्त सन्देश जनस्तरसम्म पुर्‍याउन उहाँले पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो।

फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेससँग मिलेर प्रदेश सरकार सञ्चालन गर्ने पक्षमा एमाले रहे पनि कांग्रेसभित्रको आन्तरिक असहमतिका कारण त्यो सम्भव नभएको बताउनुभयो। त्यसै कारण प्रदेशमा नेकपासँग गठबन्धन गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो।