जनता टाइम्स

१० श्रावण २०८३, आईतवार २०:५७

भारतमा प्रश्नपत्र चुहिँदा मन्त्रीले राजीनामा दिए, नेपालमा किन केवल छानबिन समिति ? : महेश बस्नेत


काठमाडौं, साउन १० । नेकपा (एमाले)का सचिव महेश बस्नेतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस परीक्षाको प्रश्नपत्र चुहिएको घटनालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नैतिक जिम्मेवारीबारे सार्वजनिक प्रश्न उठाउनुभएको छ।

आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले भारतमा प्रश्नपत्र चुहावट भएको घटनामा सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको उदाहरण प्रस्तुत गर्नुभएको छ।

उहाँले नेपालमा भने त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार कार्यालयबाटै एमबीएस परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको दाबी गर्दै विश्वविद्यालयले साइबर ब्युरोलाई पत्राचार गर्नुका साथै छानबिन समिति गठन गरेको उल्लेख गर्नुभएको छ।

सचिव बस्नेतले प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनामा नेपालमा केवल छानबिन समिति गठन गरेर मात्र जिम्मेवारी पूरा हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाउँदै शिक्षा मन्त्री पोखरेलको नैतिक जवाफदेहितामाथि प्रश्न गर्नुभएको छ।

“भारतमा प्रश्नपत्र आउट हुँदा मन्त्री आउट, नेपालमा प्रश्नपत्र आउट हुँदा केवल छानबिन समिति मात्र आउट ? मन्त्रीज्यू, नैतिकता नेपालमा पनि आयात गर्न मिल्छ कि मिल्दैन ?” भन्दै उहाँले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ।