जनता टाइम्स

११ श्रावण २०८३, सोमबार १०:०९

गैँडाकोटमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु, घटनाबारे अनुसन्धान जारी


काठमाडौं, साउन ११ ।  पूर्वी नवलपरासीको गैँडाकोटमा अचेत अवस्थामा फेला परेका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–१२ हर्कपुरमा डेरा गरी बस्दै आउनुभएकी बागलुङको जैमिनी नगरपालिका–९ निवासी ३८ वर्षीया कविता राई र गैँडाकोट नगरपालिका–१० निवासी भोजपुरकी ४५ वर्षीया कान्छी राई रहनुभएको प्रहरीले जनाएको छ। उहाँहरू गैँडाकोट क्षेत्रमा कृषि तथा पशुपालनसम्बन्धी काम गर्दै आउनुभएको थियो।

प्रहरीका अनुसार उहाँहरू गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकको चौरमा अचेत अवस्थामा फेला पर्नुभएको थियो। तत्काल उद्धार गरी गैँडाकोट नगर अस्पतालमा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको हो।

घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।