जनता टाइम्स

११ श्रावण २०८३, सोमबार ११:२७

 बालेन सरकारप्रति रास्वपाकै सांसद लालविक्रम थापाको आक्रोश : नागरिकको छातीमा ताकी–ताकी गोली हानियो, केहीलाई गाडेकाे आशंका छ 


काठमाडौं, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै आठ जना सर्वसाधारण घाइते भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सरकार र सुरक्षा निकायको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

घटनालगत्तै राति नै घटनास्थल कप्तानगञ्ज नयाँ हटिया पुग्नुभएका सुनसरी–२ बाट निर्वाचित सांसद थापाले नागरिकमाथि लक्षित गरेर गोली चलाइएको बताउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। “१० जनालाई ताकी–ताकी गोली हानिएको छ, एक जनाको छातीमा हानिएको छ, अर्काको पेटमा हानिएको छ, एक जनाको त मृत्यु नै भइसक्यो, यो दृश्य अत्यन्त दर्दनाक छ, हेर्नै नसकिने अवस्था छ,” उहाँले भन्नुभयो।

गोली लागेका सबै व्यक्तिको अवस्थाबारे आफूलाई शंका लागेको उल्लेख गर्दै उहाँले “गोली लागेका मान्छेमध्ये कोहीलाई कतै खाल्डोतिर लगेर गाडिएको त छैन भन्ने शंका पनि लागेको छ, त्यसको पनि सत्यतथ्य सार्वजनिक हुनुपर्छ,” भन्नुभयो।

उहाँले घटनास्थलमा कार्यरत प्रहरी निरीक्षकको भूमिकाप्रति आफूलाई पहिलेदेखि नै आशंका रहेको बताउँदै सबै पक्षसँग बुझ्दा घटना अत्यन्त गम्भीर र दुःखद रहेको निष्कर्षमा पुगेको बताउनुभयो। “यो घटनामा कुनै पनि हालतमा गोली चलाउनुपर्ने अवस्था थिएन, यस्तो परिस्थितिमा नागरिकमाथि गोली चलाउनु जायज मान्न सकिँदैन,” उहाँले भन्नुभयो।

सांसद थापाले प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी माग्दा स्पष्ट ज वाफ नपाएको र नेपाल प्रहरीका जिल्ला प्रमुख (एसपी)लाई सम्पर्क गर्न खोज्दा पनि फोन नउठेको गुनासो गर्नुभयो।“नागरिकमाथि डङडङ गोली चलाइएको छ, युवाहरू माथि छातीमा गोली हानिएको छ, हातमा हतियार छ भन्दैमा लापरबाही ढंगले नागरिकमाथि गोली चलाउन पाइँदैन, गोली चलेको अवस्था हेर्दा निर्मम ढंगबाट, कुनै मायादया नराखी प्रहार गरिएको देखिन्छ,” उहाँले भन्नुभयो।

सांसद थापाले थप अप्रिय घटना हुन नदिन आफू संयमित रूपमा खटिएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो।