काठमाडौं, साउन ११ । नेपालकै पहिलो आधुनिक तथा व्यावसायिक सडक सुरुङमार्गका रूपमा निर्माण भएको नागढुंगा–थानकोट सुरुङमार्ग आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङमार्ग उद्घाटन गरेसँगै आयोजना सञ्चालनमा आएको हो।
तर उद्घाटनसँगै अर्को विषयले राजनीतिक बहस चर्काएको छ– शिलान्यासकर्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम र शिलालेख नै आयोजनास्थलबाट गायब बनाइएको छ। उद्घाटन कार्यक्रममा राखिएको नयाँ सुनौलो शिलालेखमा “माननीय पूर्वाधार विकास मन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो” भन्ने अभिलेख राखिएको छ।
२०७६ असोज २७ गते यही आयोजनाको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम भने उद्घाटनस्थलमा कतै देखिएन। राजनीतिक वृत्तमा यसलाई योजनाबद्ध रूपमा ओलीको योगदान र इतिहास मेटाउने प्रयासका रूपमा व्याख्या गरिएको छ।
नेपालका लागि जापानी राजदूत तथा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधिहरूले मन्त्री लम्सालसँगै रिबन काटेर सुरुङमार्ग उद्घाटन गर्नुभयाे । जहाँ एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओलीकाे नाम कहीँ कतै लिइएन ।
नागढुंगा सुरुङमार्गको अवधारणा, सम्भाव्यता अध्ययन, जापानसँगको सहकार्य र निर्माण प्रक्रिया ओली नेतृत्वको सरकारले तीव्र रूपमा अघि बढाएको थियाे। काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुंगामा हुने सवारी जाम, जोखिमपूर्ण घुम्ती र दुर्घटनाको समस्या समाधान गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो परियोजना अघि बढाइएको थियो। साे परियाेजना नेकपा एमलेकाे नेपाललाई सुरुङ युगमा लैजाने परिकल्पना थियाे भने केपी ओलीकाे स्वर्णिम सपना थियाे ।
सुरुङकाे जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन तथा डिजाइन तयार गरिएको थियो भने जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले निर्माणको जिम्मेवारी पाएको थियो।
कोभिड–१९ महामारीका कारण केही ढिलाइ भए पनि २०८१ वैशाखमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको थियो। करिब २.७५ किलोमिटर लामो यो सुरुङमार्ग काठमाडौंको थानकोट र धादिङको सिस्नेखोलालाई जोड्ने नेपालकै पहिलो सञ्चालनयोग्य आधुनिक सडक सुरुङमार्ग हो।
उद्घाटनस्थलमा नयाँ शिलालेख राखिए पनि शिलान्यासकर्ता ओलीको नाम अंकित पुरानो शिलालेख हटाइएकाे छ । कुनै पनि राष्ट्रिय गौरवको आयोजना सम्पन्न हुँदा शिलान्यासकर्ता र उद्घाटनकर्ता दुवैको योगदानलाई सम्मानपूर्वक अभिलेख गर्ने परम्परा रहँदै आएको छ। तर नागढुंगा सुरुङमार्गमा भने उद्घाटन गर्ने मन्त्रीको नाम राखेर शिलान्यास गर्ने पूर्वप्रधानमन्त्रीको नाम हटाइनु पूर्वाग्रही कदम भएकाे पुष्टि हुन्छ ।
शिलालेखबारे प्रश्न उठेपछि आयोजना र सडक विभागले भने पुरानो शिलालेख हटाएको नभई बबरमहलस्थित सडक विभागको भग्नावशेषमा रहेको दाबी गरेका छन्। विभागका अनुसार ‘जेनजी आन्दोलन’का क्रममा भएको आगलागीपछि उक्त शिलालेख भग्नावशेषमुनि पुरिएको हुन सक्छ।
आयोजनाका अधिकारीहरूले भग्नावशेष पूर्ण रूपमा नहटाइएसम्म शिलालेखको अवस्था यकिन गर्न नसकिने बताएका छन्। यदि पुरानो शिलालेख सुरक्षित अवस्थामा फेला परे त्यसलाई पुनःस्थापना गरिने र फेला नपरे वा प्रयोग गर्न नमिल्ने अवस्थामा सरकारको निर्णयअनुसार नयाँ व्यवस्था गरिने जनाइएको छ।
तर शिलालेख गायब हुनु संयोग नभई राजनीतिक नियतको परिणाम भएको राजनीतिक वृत्तमा चर्चा छ। यसलाई नागढुंगा सुरुङमार्गको परिकल्पना, शिलान्यास र निर्माण प्रक्रिया तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अघि बढेको ऐतिहासिक तथ्यलाई उद्घाटन समारोहबाटै मेटाउने प्रयास गरिएको रुपमा हेरिएकाे छ।
नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग सञ्चालनमा आउनु देशका लागि ऐतिहासिक उपलब्धि भए पनि त्यस उपलब्धिको जग बसाल्ने नेतृत्वको नामसमेत अभिलेखबाट हटाइनुले राजनीतिक बहसलाई अझ तीव्र बनाएको छ।














प्रतिक्रिया दिनुहोस्