विराटनगर, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा जारी कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि स्थिति थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले कर्फ्युका बीच टायर बाल्ने, आगजनी तथा तोडफोड गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कर्फ्यु लागू गरिएका क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भीडलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो। तर, भीड बढ्दै गएपछि नेपाली सेनासमेत परिचालन गर्नुपरेको हो।
सेनाको बख्तरबन्द गाडीसहितको हतियारधारी टोली कप्तानगञ्ज क्षेत्रमा परिचालन गरिएको छ। देवानगञ्ज घटनापछि लौकही, इनरुवालगायत सुनसरीका विभिन्न स्थानमा पनि प्रदर्शन भइरहेको छ। कर्फ्यु जारी रहेका कप्तानगञ्ज, देवानगञ्ज र हरिनगर क्षेत्रमा स्थानीयवासी समूह–समूहमा सडकमा उत्रिएका छन्।
आइतबार राति दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएका छन्। घटनापछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको छ।
सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दंगा नियन्त्रणका विशेष टोलीहरू समेत सुनसरी झिकाइएको छ।
यसैबीच, घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ। छलफलमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा धार्मिक अगुवाहरू सहभागी रहेका छन्। घटनालाई थप फैलिन नदिन र शान्ति तथा सद्भाव कायम गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
उता, गृह मन्त्रालयले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका अनुसार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
प्रशासनले कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्