काठमाडौं, साउन ११ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ। धार्मिक सद्भाव भड्किएको घटनालाई गम्भीर रूपमा लिँदै मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी)सहित जिल्लामा कार्यरत सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएको हो।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाई उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरेको छ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई सरुवा गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको छ। उहाँको स्थानमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिइएको छ।
यस्तै, सशस्त्र प्रहरी बलको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।
देवानगञ्जमा आइतबार राति दुई समुदायबीच उत्पन्न तनाव हिंसात्मक बन्दै जाँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २१ जना घाइते भएका छन्। घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ भने नेपाली सेनासमेत परिचालन गरिएको छ।
यसअघि गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।














प्रतिक्रिया दिनुहोस्