जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार १०:४४

लमजुङमा पहिरोले घर पुरिँदा बुबा–छोरीको मृत्यु, श्रीमती र अर्की छोरी घाइते


काठमाडौं, साउन १२ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा आज बिहान गएको पहिरोमा परी बुबा र छोरीको ज्यान गएकाे छ।

घरमाथि रहेको नगरकुलो भत्किएपछि आएको पहिरोले धन्सारसहितको दुईतले कच्ची घर पुरिँदा ५९ वर्षीय टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पहिरोले विक परिवार बसोबास गर्दै आएको घरमा ठूलो क्षति पुगेको थियो। घटनामा टिकबहादुर विककी श्रीमती सुकमाया विक र जेठी छोरी अस्मिता विक घाइते हुनुभएको छ। उहाँहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको जनाएको छ। घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोलीले उद्धार कार्य सञ्चालन गरेका थिए।