जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार १४:१९

निर्माण कम्पनीको चरम लापरबाही र राज्यको मौनता : रामेछाप–साँघुटार सडकले नागरिकको जीवन जोखिममा


दुई वर्षअघि सकिनुपर्ने सडक अझै अलपत्र, धुलो–हिलो–पहिरोको सास्तीले स्थानीय आक्रोशित, सम्बन्धित निकायमाथि तत्काल हस्तक्षेपको माग

रामेछाप, साउन १२ । निर्माण कम्पनीको चरम लापरबाही र सरोकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेलेघाटदेखि साँघुटारसम्म निर्माणाधीन सडक वर्षौंदेखि अलपत्र परेको छ। समयमै निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी धुलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमबीच दैनिक जीवन बिताउन बाध्य भएका छन्।

रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित रामेछापका साँघुटारसम्म पुग्ने करिब ५२ किलोमिटर सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो। भारतीय कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल) ले ठेक्का पाए पनि नेपाली निर्माण व्यवसायीमार्फत काम गराउँदै आएको छ। तर निर्माण कम्पनीको सुस्त कार्यशैली र नियामक निकायको प्रभावकारी अनुगमन अभावले आयोजना वर्षौंदेखि अलपत्र बनेको छ।

सडकको पुरानो संरचना भत्काएर नयाँ निर्माण अधुरै छाडिएकाले वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। निर्माण सामग्री जथाभावी सडकमा थुपारिँदा सवारी सञ्चालनसमेत प्रभावित बनेको छ भने यात्रुहरूले दैनिक सास्ती खेपिरहेका छन्।

मन्थली नगरपालिका–४ सालुका स्थानीय पुष्पराज अधिकारीले निर्माण कम्पनीको लापरबाहीले घरजग्गा र खेतीयोग्य जमिन नै जोखिममा परेको बताउनुभयो। उहाँका अनुसार सडकमा थुपारिएको निर्माण सामग्रीका कारण आवतजावत प्रभावित भएको छ भने सडकको पानी सिधै बस्ती र खेतबारीमा पस्दा ठूलो क्षति भइरहेको छ।

स्थानीयवासीका अनुसार सडक खनेर अधुरै छाडिएकाले वर्षायाममा पहिरोको जोखिम बढेको छ। सडकबाट फालिएको ढुंगा–माटोले बस्ती र उर्वर खेतीयोग्य जमिन पुरिनुका साथै वर्षाको पानीले खेतबारी कटान गर्ने समस्या झन् गम्भीर बन्दै गएको छ।

सोही सडकमा नियमित सवारी चलाउने चालक गंगाबहादुर तामाङले सडकको दुर्दशाले यात्रु र चालक दुवैलाई दैनिक सास्ती दिएको बताउनुभयो। उहाँले सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको भन्दै सम्बन्धित निकायको बेवास्ताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

सन् २०२० नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ मे १० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण सम्झौता भए पनि निर्धारित समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा समेत आधारभूत निर्माण कार्यसमेत पूरा हुन सकेको छैन।

स्थानीयका अनुसार निर्माण कम्पनीले कामदारलाई समयमै पारिश्रमिकसमेत उपलब्ध गराएको छैन। कामदार अभाव, निर्माण कम्पनीको गैरजिम्मेवारी र सरोकारवाला निकायको निष्क्रियताका कारण आयोजना लामो समयदेखि ठप्पजस्तै बनेको  छ । अहिले आयाेजनास्थमा न कामदार भेटिन्छन्, न निर्माण कम्पनिका प्रतिनिध र आयाेजनाका सकारी कर्मचारी नै भेटिने गरेका छन् ।

वर्षौंदेखि विकासको नाममा धुलो, हिलो, पहिरो र दुर्घटनाको जोखिम खेप्न बाध्य भएको भन्दै स्थानीयवासीले निर्माण कम्पनीलाई तत्काल जवाफदेही बनाउन र सम्बन्धित सरकारी निकायलाई कडा निगरानीसहित सडक निर्माण शीघ्र सम्पन्न गराउन माग गरेका छन्। उनीहरूको भनाइमा, विकासको आशामा सुरु गरिएको सडक आयोजना अहिले नागरिकका लागि सुविधा होइन, दैनिक पीडा र जोखिमको पर्याय बनेको छ।