जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार १६:०६

सेना परिचालन गर्दा पनि स्थिति नियन्त्रणबाहिर गए पछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु


देवानगञ्ज गोलीकाण्डपछि साम्प्रदायिक तनाव चर्कियो, आज प्रदर्शन हिंसात्मक बन्दै तोडफोड र आगजनी, प्रशासनद्वारा मुख्य राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यु

काठमाडौं, साउन १२ । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव साम्प्रदायिक रूप लिँदै गएपछि सुनसरीका विभिन्न क्षेत्रमा अवस्था थप तनावग्रस्त बनेको छ। हिजोदेखि सुरु भएको विरोध प्रदर्शन मंगलबार तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा परिणत भएकाे छ । स्थानीय प्रशासनले सेना परिचालन गरे पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

हिजो देवानगञ्जमा दुई समुदायबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि त्यसको विरोधमा आज सुनसरीसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको हो।

प्रदर्शनका क्रममा तोडफोड, आगजनी तथा सडक अवरुद्ध गर्ने गतिविधि भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पकलीदेखि कोशी ब्यारेजसम्मको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

यस्तै, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम इनरुवाको मुख्य बजार क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा–बैठक गर्न वा कुनै प्रकारको घेराउ गर्न पाउने छैनन्।

यसअघि हिजोदेखि नै देवानगञ्ज क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। तर तनाव अन्य क्षेत्रमा फैलिन थालेपछि प्रशासनले कर्फ्युको दायरा विस्तार गरेको हो। घटनाकाे प्रभाव पूर्वी तराइका जिल्लाहरुमा बढ्दै गएकाे छ ।

प्रहरी र प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने नेपाली सेनासमेत परिचालन गरिएको जनाइएको छ। त्यसका बाबजुद केही स्थानमा तनावपूर्ण अवस्था कायम रहेकाले थप सुरक्षा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने जनाएको छ।