काठमाडौं, साउन १२ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव भत्काउने कुनै पनि प्रकारको अतिवादविरुद्ध सबै सचेत हुनुपर्ने बताउनु भएकाे छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले सुनसरीमा सामाजिक सद्भाव खलबलिँदा हिंसात्मक अवस्था सिर्जना भएको, सुरक्षाकर्मीको कारबाहीमा एक जनाको ज्यान गएको तथा कैयौँ व्यक्ति घाइते भएको उल्लेख गर्नु भएकाे छ । उहाँले तोडफोड, आगजनी र लुटपाटका कारण करोडौँ रुपैयाँ बराबरको क्षति भएको जनाउँदै यस्ता घटनाले सामाजिक विद्वेषको आगो अन्य क्षेत्रमा समेत फैलिन सक्ने जोखिम बढाएको बताउनु भएकाे छ ।
ज्ञवालीले बहुलता, विविधता, सहिष्णुता, अपनत्व र शान्तिलाई नेपाली समाजको मूल विशेषता तथा राष्ट्रिय सामर्थ्यको आधारका रूपमा उल्लेख गर्दै यी मूल्य–मान्यतालाई कमजोर पारेर घृणा, विद्वेष, निषेध र हिंसातर्फ समाजलाई धकेल्ने प्रयास समय–समयमा हुने गरेको बताउनु भएकाे छ । उहाँले यस्ता गतिविधिलाई “आत्मघाती अतिवाद”को संज्ञा दिँदै सम्पूर्ण नागरिकलाई सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्नु भएकाे छ ।
ज्ञवालीले यस्तो संवेदनशील परिस्थितिमा सरकारको भूमिका प्रभावकारी हुनुपर्ने धारणा पनि व्यक्त गर्नु भएकाे छ । उहाँलले प्रधानमन्त्रीले तत्काल शान्ति, सद्भाव र संयमताका लागि गम्भीर अपिल गर्नुका साथै प्रभावकारी शान्ति–सुरक्षा व्यवस्था गरी नागरिकमा सरकार उपस्थित रहेको अनुभूति दिलाउनुपर्ने बताउनु भएकाे छ ।














प्रतिक्रिया दिनुहोस्