जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार ०७:१३

सुनसरी हत्याकाण्डकाे तीन दिन पछि मध्यरातमा प्रधानमन्त्री साहको अपिल : नैतिक जिम्मेवारी वा राजीनामा बारे मौन, दोषीमाथि कारबाहीको आश्वासन


भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर्‍याउनुभएका प्रधानमन्त्री साहले सुनसरी घटनामा भने आफ्नै जिम्मेवारीबारे केही बोल्नु भएको छैन । 

काठमाडौं, साउन १३ । सुनसरीमा भएको हिंसात्मक घटनामा नागरिकको मृत्यु र दर्जनौँ घाइते भएको घटनापछि प्रधानमन्त्री बालेन्द्र साहले घटना भएको तीन दिनपछि मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्नुभएको छ।

प्रधानमन्त्री साहले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाइने प्रतिबद्धता जनाउनुभएको छ। साथै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिनुभएको छ। “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु,” उहाँले भन्नुभएको छ।

प्रधानमन्त्री साहले आफ्नो सन्देशमा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने विश्वास दिलाउनुभएको छ। सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू अघि बढाइएको उहाँको भनाइ छ।  “सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु,” उहाँले भन्नुभएको छ।

यद्यपि प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र आलोचना सुरु भएको छ। आलोचकहरूले घटना भएको तीन दिनसम्म सार्वजनिक रूपमा नबोली मध्यरातमा फेसबुकमार्फत मात्र धारणा सार्वजनिक गर्नुले सरकारको संवेदनशीलता र जबाफदेहितामाथि प्रश्न उठाएको बताएका छन्।

आलोचकहरूको भनाइमा प्रधानमन्त्री साहले विगतमा भदौ २३ र २४ गते भएका घटनाका सन्दर्भमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई नैतिक र राजनीतिक रूपमा जिम्मेवार ठहर्‍याउँदै सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। उहाँको अभिव्यक्ति पछि सिङ्गो देश जलेको थियो र तत्कालीन प्रधानमन्त्री र गृह मन्त्री राजीनामा दिन बाध्य हुनु भएको थियो ।

तर सुनसरी घटनामा भने उहाँले आफ्नै सरकारको नेतृत्वकर्ताका रूपमा नैतिक जिम्मेवारी लिने वा राजीनामाबारे कुनै सङ्केत नगरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धतामा मात्र जोड दिनुभएको छ ।  “सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ,” साहले आफू जिम्मेवारीबाट पन्छँदै फिल्डमा खटिएका सुरक्षाकर्मीको थाप्लोमा दोष थोपर्नु भएको छ ।

प्रधानमन्त्री साहले आफ्नो सन्देशमा नागरिकलाई संयमित रहन, आक्रोश र प्रतिशोधको भावना त्याग्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। “सरकारको पहिलो धर्म आफ्ना नागरिकको सुरक्षा गर्नु र पीडितलाई न्याय दिलाउनु हो,” भन्दै उहाँले सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर पीडितलाई न्याय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उहाँले नैतिक जिम्मेवारी स्वीकार नगरेको, घटनाप्रति ढिलो प्रतिक्रिया दिएको र कारबाहीको चेतावनीमा मात्र सीमित भएको भन्दै कडा प्रतिक्रिया र आलोचना जारी रहेको छ।

विश्लेषकहरूका अनुसार लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको प्रयोगबाट नागरिकको ज्यान जाने घटना केवल कानुनी अनुसन्धानको विषय मात्र होइन, राजनीतिक उत्तरदायित्वको विषय पनि मानिन्छ। त्यसैले घटनापछि प्रधानमन्त्रीको ढिलो प्रतिक्रिया, मध्यरातमा फेसबुकमार्फत मात्रै सार्वजनिक सन्देश आउनु र नैतिक जिम्मेवारीको प्रश्नमा मौन रहनुले सरकारमाथि थप प्रश्न खडा गरेको टिप्पणी भइरहेको छ।