जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार ११:१७

सुनसरी हिंसापछिकाे सर्वदलीय बैठकमा बालेनको अनुपस्थितिमा एमाले सचिव महेश बस्नेतको प्रश्न : संकटमा प्रधानमन्त्री कहाँ थिए ?


सर्वदलीय बैठकमा प्रधानमन्त्री नआउनु नेतृत्वको कमजोरी र गैरजिम्मेवारी भएको टिप्पणी

काठमाडौं, साउन १३। नेकपा (एमाले)का सचिव महेश बस्नेतले सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु तथा त्यसपछि भड्किएको हिंसात्मक घटनाका बीच प्रधानमन्त्री बालेन्द्र साह सर्वदलीय बैठकमा अनुपस्थित हुनु नेतृत्वको कमजोरी र गैरजिम्मेवारी भएको टिप्पणी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको र त्यसपछिको घटनाक्रममा थप एक जनाले ज्यान गुमाएको तथा १० जनाभन्दा बढी व्यक्ति घाइते भएको उल्लेख गर्नुभएको छ। त्यसपछि उत्पन्न हिंसात्मक अवस्थाबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आपत्कालीन सर्वदलीय बैठक बोलाए पनि देशको कार्यकारी नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र साह भने बैठकमा अनुपस्थित रहेको उहाँले उल्लेख गर्नुभएको छ।

बस्नेतले यस्तो संवेदनशील घटनापछि सरकारको नेतृत्व गर्ने व्यक्ति बैठकमै अनुपस्थित रहनुलाई “नेतृत्वको कमजोरी, असावधानी र गैरजिम्मेवारीपनको संकेत” भएको टिप्पणी गर्नुभएको छ।

उहाँले प्रधानमन्त्रीको अनुपस्थितिले परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील नरहेको सन्देश गएको दाबी गर्दै, “उहाँलाई न परिस्थितिको गम्भीरताको अनुभूति छ, न सहकर्मीहरूको सुझावको आवश्यकता,” भन्ने धारणा व्यक्त गर्नुभएको छ।

सचिव बस्नेतले प्रधानमन्त्री साहको कार्यशैलीप्रति प्रश्न उठाउँदै उहाँको अनुपस्थितिले “प्रधानमन्त्री साह कसैलाई टेर्दैनन्, कसैलाई गन्दैनन् भन्ने टिप्पणीलाई थप बल पुगेको” उल्लेख गर्नुभएको छ।

उहाँले संकटका बेला नेतृत्वको वास्तविक परीक्षण हुने भन्दै, “संकटको बेलामा खेलेको भूमिकाले नै नेतृत्वको सही मूल्याङ्कन हुन्छ,” भन्ने टिप्पणीसमेत गर्नुभएको छ।

सुनसरी घटनापछि उत्पन्न तनाव, हिंसा र सामाजिक सद्भावको अवस्थाबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। उक्त बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङ सहभागी हुनुभएको थिएन। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले महासचिव शंकर पाेखरेल लगायत नेताहरूले पनि सार्वजनिक रूपमा प्रश्न उठाइसक्नुभएको छ।