जनता टाइम्स

१३ श्रावण २०८३, बुधबार १४:२७

सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपिल : शान्ति, संवाद र संयमतामार्फत समस्या समाधान गर्न आग्रह


काठमाडौं, साउन १३ । सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित भएका संवेदनशील तथा दुःखद घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सम्पन्न सर्वदलीय बैठकले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त अपिल जारी गरेको छ।

बैठकले पछिल्ला घटनाहरूको गम्भीर समीक्षा गर्दै हिंसा, तनाव र सामाजिक विभाजन निम्त्याउने कुनै पनि गतिविधिबाट टाढा रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूले लोकतान्त्रिक प्रणालीमा उत्पन्न हुने जुनसुकै असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद, सहमति र संवैधानिक प्रक्रियाबाट मात्रै सम्भव हुनेमा जोड दिनुभएको छ।

संयुक्त वक्तव्यमा घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते हुनुभएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

बैठकले नेपालको विविधताभित्रको एकता, सहिष्णुता र सहअस्तित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा आवेग र उत्तेजनामा नबहकिन सम्पूर्ण नागरिकलाई हार्दिक अपिल गरेको छ। समस्याको समाधान मुठभेड र हिंसाबाट नभई संयम, संवाद र सहकार्यबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

सामाजिक सद्भावलाई स्थानीय तहसम्म सुदृढ बनाउन प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ। धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनबीच समन्वय बढाएर शान्तिपूर्ण वातावरण निर्माण गर्न राजनीतिक दलका विभिन्न तहका समितिहरूलाई सक्रिय हुन निर्देशन दिइएको छ।

त्यसैगरी, यस्ता संवेदनशील घटनाहरू भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना तथा घृणास्पद अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गरेको छ। सञ्चारमाध्यमलाई पनि संयमित, तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।

संयुक्त वक्तव्यमार्फत नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, अधिकतम संयमता अपनाई परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

बैठकमा सहभागी दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक शक्ति एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

संयुक्त वक्तव्य तथा अपिल (जस्ताको तस्तै)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेज्यूको आह्वानमा आज मिति २०८३ श्रावण १३ गते सम्पन्न सर्वदलीय बैठकले सुनसरी लगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै निम्न बमोजिमको संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छः

१. समवेदना तथा सहानुभूति:
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतक प्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

२. सामाजिक सद्भाव र शान्तिको अपिल:
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो । सदियौँदेखि हाम्रो समाजमा कायम रहेको पारस्परिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ ।

३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान:
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ । आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं ।

४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान:
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन । तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं । स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो ।

५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका:
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू–भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं ।

६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग:
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन् । तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं ।

७. नेपाल सरकारको ध्यानाकर्षण:
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो । अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं ।

हस्ताक्षरकर्ता:

रवि लामिछाने (सभापति, रास्वपा)

गगन थापा (सभापति, नेपाली कांग्रेस)

पुष्पकमल दाहाल (अध्यक्ष, नेकपा–प्रचण्ड)

शंकर पोखरेल (महासचिव, नेकपा एमाले)

आरेन राई (महासचिव, श्रम संस्कृति पार्टी)

महन्थ ठाकुर (अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी)

राजेन्द्र लिङ्देन (अध्यक्ष, राप्रपा)

सीके राउत (अध्यक्ष, जनमत पार्टी)

प्रकाश अधिकारी (नेता, जसपा नेपाल)