काठमाडौं, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक काठमाडौंको वनस्थलीस्थित घण्टीघरमा जारी रहेको छ। हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा संगठनात्मक विषयमा छलफल भइरहेको छ।
बैठकको सुरुआतमा रास्वपाका सभापति रवि लामिछानेले देशको समसामयिक राजनीतिक तथा सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो। विशेषगरी सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे उहाँले पार्टीको धारणा र आगामी भूमिकाबारे केन्द्रीय सदस्यहरूलाई जानकारी गराउनुभएको स्रोतले जनाएको छ।
सुनसरी घटनापछि विकसित तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभापति लामिछानेको आह्वानमा मंगलबार सर्वदलीय बैठकसमेत सम्पन्न भएको थियो। उक्त बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न, हिंसात्मक गतिविधि रोक्न तथा समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्न संयुक्त अपिल जारी गरेका थिए।

यद्यपि, देशमा हिंसात्मक तथा साम्प्रदायिक तनाव उत्पन्न भएको संवेदनशील परिस्थितिमा आयोजना गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह सहभागी हुनुभएन। प्रधानमन्त्री सरकारको नेतृत्वमा रहनुभएकाले पछिल्लो सुरक्षा अवस्था, सरकारका कदम तथा भावी योजनाबारे जानकारी गराउनु अपेक्षित रहे पनि उहाँको अनुपस्थिति चर्चाको विषय बनेको छ।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि उक्त सर्वदलीय बैठकमा सहभागी हुनुभएन। शान्ति–सुरक्षा व्यवस्थापनको प्रत्यक्ष जिम्मेवारी गृह मन्त्रालयको हुने भएकाले सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति अपेक्षित रहे पनि दुवै जना अनुपस्थित रहनुभएको थियो।

रास्वपाको जारी केन्द्रीय समिति बैठकमा पनि उहाँहरु उपस्थित हुनुहुन्न । बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठनात्मक व्यवस्थापन, विभिन्न तहमा मनोनयन, आगामी राजनीतिक अभियान तथा कार्यक्रम सञ्चालनलगायत विविध विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्