जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार ०७:१८

सुनसरीको भोक्राहामा यसरी गरियो तोडफोड र लुटपाट (भिडियोसहित)


सुनसरी, साउन १४ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ब्रोदर हार्डवेयर एन्ड ट्रेडिङ स्टोरमा आपराधिक मनसायका साथ तोडफोड तथा लुटपाट भएको छ । सो घटनाप्रति व्यवसायीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

हार्डवेयर सञ्चालक रियाज अन्सारीका अनुसार गत सोमबार प्रदर्शनकारीले हार्डवेयरको सटर फुटाएर भित्र प्रवेश गरी विभिन्न हार्डवेयर सामग्री लुटपाट गर्नुका साथै पसलभित्र रहेका सामानमा व्यापक तोडफोड गरिएको छ ।

सञ्चालक अन्सारीले घटनाबाट करिब एक करोड रुपैयाँ बराबरको आर्थिक क्षतिभएको बताउनु भयो । सञ्चालक अन्सारीले घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी संलग्न व्यक्तिहरूको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ । उहाँले व्यवसायीको सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

घटनापछि स्थानीय व्यवसायीसमेत त्रसित बनेका छन्। उनीहरूले यस्ता आपराधिक गतिविधिले व्यवसाय सञ्चालनमा असुरक्षा बढाएको भन्दै दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरेका छन । सुनसरीको देवानगञ्जको कप्तानगञ्जमा चार दिन अघि भएको घटनापछि सुनसरीमा अशान्त बनेको छ । यही मौका छोपेर लुटपाट र तोडफोडका घटना बढेका छन ।