काठमाडौं, साउन २० । नेपाली कांग्रेसले मुलुकको राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको भन्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार संविधान, विधिको शासन र जनादेशअनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै सरकार नै नैतिक संकटमा परेको दाबी गर्नुभयो। “जब सरकार नैतिक संकटमा पर्छ, जब समस्याको समाधान गर्न सक्दैन, तब अर्को घटना गराएर जनताको ध्यान मोड्ने प्रयास गर्छ, अहिले सरकारले त्यही गरिरहेको छ,” उहाँले भन्नुभयो।
प्रवक्ता चालिसेले सरकारको पछिल्लो गतिविधिले देश, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाएको बताउँदै कांग्रेस अब मौन बसेर हेर्न नसक्ने स्पष्ट पार्नुभयो।
उहाँले जनताले सरकार सञ्चालनका लागि स्पष्ट जनादेश दिए पनि सरकारले त्यसअनुसार काम गर्न नसकेको र संविधान तथा विधिको सर्वोच्चतालाई स्वीकार गर्न नसकेको आरोप लगाउनुभयो।
सुनसरी र सिराहामा भएको घटनाप्रति सरकार संयमित र जिम्मेवार बन्न नसकेको दाबी गर्दै उहाँले उक्त घटनालाई गम्भीर चिन्ताको विषयका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। “सुनसरी र सिराहाको घटनामा राज्य संयमित र जिम्मेवार भएर प्रस्तुत हुन सकेन,” उहाँले भन्नुभयो।
जब सरकार नैतिक संकटमा पर्छ, जब समस्याको समाधान गर्न सक्दैन, तब अर्को घटना गराएर जनताको ध्यान मोड्ने प्रयास गर्छ, अहिले सरकारले त्यही गरिरहेको छ,”
नेपाली कांग्रेसले उक्त घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। सरकारी समिति होइन, राजनीतिक प्रभावबाट मुक्त आयोगमार्फत सत्यतथ्य सार्वजनिक हुनुपर्ने उहाँको भनाइ थियो। “सरकारी समिति होइन, स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्छ,” उहाँले जोड दिनुभयो।
प्रवक्ता चालिसेले यसअघि भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेत निष्पक्ष हुन नसकेको टिप्पणी गर्दै ती घटनाको वास्तविकता कुनै न कुनै दिन सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सरकार असंयमित देखिए पनि जनताको संयमता र धैर्यका कारण मुलुक बिस्तारै शान्त बन्दै गएको उल्लेख गर्दै पछिल्ला घटनालाई सामान्य रूपमा लिन नहुने धारणा राख्नुभयो। “यो घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन, ढाकछोप गर्न पनि मिल्दैन,” उहाँले भन्नुभयो।
प्रवक्ता चालिसेले वर्तमान सरकारले सर्वसत्तावादी अभ्यास गरिरहेको आरोपसमेत लगाउनुभयो। गृहमन्त्रालयकै निर्देशनमा केही व्यक्तिले नेपाली कांग्रेसका सभापति गगन थापा तथा सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि सवारीसाधन तेर्स्याउने कार्य भएको भन्दै उहाँले त्यसप्रति खेद व्यक्त गर्नुभयो।
साथै, प्रश्न सोधेको वा अभिव्यक्ति दिएको आधारमा युवामाथि आक्रमण र गिरफ्तारी गरिएको आरोप लगाउँदै उहाँले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको टिप्पणी गर्नुभयो। “के नागरिक र सञ्चारमाध्यमलाई प्रश्न गर्नै नपाउने बनाउने प्रयास भइरहेको हो ?” भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्