जनता टाइम्स

७ पुष २०७६, सोमबार २०:१८

उपप्रधानमन्त्री इश्वर पोखरेलको खुलासा : प्रधानमन्त्रीको गतिमा हामी कुनै मन्त्रीहरु हिडन सकेका छैनौं


काठमाडौं, पुस ७ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकार र पार्टी नेतृत्वमाथि पार्टीकै नेताबाट भइरहेको हमलाको कडा प्रतिवाद जरुरी रहेको निश्कर्ष सुनाउनु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध स्थायी समिति बैठकमा केही नेताहरुले नियोजित रुपमा आक्रमण गरेपछि नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका नेता पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको गतिमा सरकारका कुनै पनि मन्त्री हिडनै नसकेको तथ्यसमेत खोल्नुभएको छ । ‘प्रधानमन्त्रीज्यूले जसरी कार्यसम्पादन गर्दै हुनुहुन्छ, अहिले पनि, यो अवस्थामा पनि, बास्तवमा हामी अरु मन्त्रीहरु उहाँको तुलनामा दौडन सकेका छैनौं, प्रधानमन्त्री अहिले पनि जसरी दौडिरहनुभएको छ नि, त्यो दौडमा हामी मन्त्रीहरु पुग्नै सकेका छैनौं, त्यहाँनिर ग्याप छ,’ एविसी टेलिभिजनको आउटलुक कार्यक्रममा शुभशंकर कँडेलसँगको अन्तरवार्तामा पोखरेलले भन्नुभयो । उहाँले स्थायी समिति बैठकमा केही नेताहरुले अत्यन्तै आपत्तिजनक भनाई राखेर मिडिया खपथका लागि सार्वजनिक गरेको भन्दै कडा प्रतिवाद गर्नुभयो ।

‘नेतृत्व (प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड) जस्ले पार्टीलाई यति बिशाल अवस्थामा ल्याइपुर्याएको छ, यो पार्टी बिघटन गराउने दिशातिर सोचेको हो कि क्या हो भन्ने आसय कसैले प्रकट गर्छ भने त्यस्तालाई त हामीले जवाफ दिनैपर्छ, हेर भाई, बैठकै गरेर मात्रै पार्टीको उत्तरोत्तर प्रगति हुँदैन, बैठक नै गरेरै कम्युनिष्ट पार्टी बिघटन भएका दृष्टान्तहरु छन । बैठक भन्दा पनि कन्टेन्टमा जाऊँ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । उहाँले पुरानो प्रणाली अन्तर्गत निर्माण भएका कानून र अहिलेको अवस्थामा म्याचिङ नहुँदा सरकारको कामले सोचे जति गति पाउन नसकेको बताउनु भयो । ‘पुरानो प्रणाली अन्तर्गत निर्माण गरिएका कानून, निति र संरचनाहरु छन, जो अहिलेको अवस्थामा म्याचिङ भइरहेका छैनन । त्यसैलाई चिर्न लागिएको छ,’ उहाँको भनाई थियो ।

नेता पोरखेलले पार्टी एकता भएपनि पूर्व पार्टीका नेता कार्यकर्ताबीच सवै पक्षमा परिचित भइनसकेकोले केही अप्ठ्यारो जस्तो देखिए पनि अव बिस्तारै सहजता आउने प्रष्ट पार्नुभयो । ‘दुईतिरका साथी आउनु भयो एकातिर पूर्वमाओवादी केन्द्रका, अर्काे साथी आउनुभयो पूर्वएमालेतर्फका । उहाँहरुले एकले अर्कालाई देख्ने स्थिति त बन्यो, तर चिन्ने स्थिति बनिसकेको छैन अझै पनि । चिन्ने स्थिति नबनुन्जेल एसिम्ब्लेशनको त प्रोब्लेम हुन्छ नि,’ पोखरेलको भनाई थियो । पोखरेलको अन्तरवार्ता आज राती ९ बजे एविसी टेलिभिजनमा प्रशारण हुनेछ ।